आईसीयू अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण


काठमाडौं ।

प्रेस काउन्सिल नेपालले उद्धार गरिएका व्यक्तिको आईसीयूमै अन्तर्वार्ता लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले रसुवा बाढीमा माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिई ‘इन्साइड द बंकर’ युट्युब च्यानलबाट प्रसारण गरिएको सामग्रीबारे अध्ययन तथा अनुगमन थालेको जनाएको हो।

त्यस्तै, सगरमाथामा सम्पर्कविहीन भई सातौँ दिनमा उद्धार गरिएका एक पदप्रदर्शकको अस्पतालको आईसीयूबाटै अन्तर्वार्ता लिएको विषयमा पनि जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ।

काउन्सिलले दुवै घटनाका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन गरिरहेको जनाएको छ। अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिललाई समेत ध्यानाकर्षण पत्र पठाइएको विज्ञप्तिमा उल्लेख छ।