अदालतको फैसला नपर्खी महाधिवेशन अघि बढाउनु गलत : शशांक कोइराला


काठमाडौँ । 

नेपाली कांग्रेसका नेता तथा महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका अघि बढाउनु उचित नभएको बताएका छन्।

मंगलबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस अहिले असहज र चुनौतीपूर्ण अवस्थामा रहेको बताए। पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार र संगठनात्मक एकता संकटमा परेको भन्दै उनले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

अदालतको फैसला नपर्खी वा वार्ता र संवादबाट सहमति नखोजी एकलौटी रूपमा अधिवेशन अघि बढाउनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।

कोइरालाले पद बाँडफाँडलाई मात्र विवाद समाधानको आधार बनाउने प्रवृत्तिले कांग्रेसको लोकतान्त्रिक संस्कार र गौरवशाली इतिहास कमजोर बनाउने चेतावनी दिए। नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पनि पदको सौदाबाजीको विषय बन्न नहुने उनले बताए।

उनले असोज ३ गतेदेखि सुरु गर्ने भनिएको संस्थापन पक्षको अधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। साथै, १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने वडा अधिवेशनलगायतका कार्यक्रममा सक्रिय सहभागिता जनाउन उनले आह्वान गरे।

कोइरालाले आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन समेत कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।