चौरजहारी विमानस्थल सुनसान, आठ वर्षदेखि उडानविहीन


काठमाडौँ ।

रुकुम पश्चिमको चौरजहारी विमानस्थल लामो समयदेखि उडानविहीन हुँदा विमानस्थल परिसर सुनसान बनेको छ। धावनमार्ग आसपास घाँस तथा झारपात उम्रिएका छन् भने विमानस्थलका संरचना र उपकरणसमेत संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।

रुकुम पश्चिमसँगै जाजरकोट र सल्यानका नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको विमानस्थलमा करिब आठ वर्षदेखि नियमित हवाई सेवा हुन सकेको छैन। कच्ची धावनमार्ग हुँदा नियमित उडान हुने गरेको विमानस्थल कालोपत्र गरिएपछि भने उडान निरन्तर हुन सकेको छैन।

२०२८ सालदेखि सञ्चालनमा आएको विमानस्थलमा २०७० सालपछि नियमित उडान प्रभावित हुँदै गएको थियो। धावनमार्ग कालोपत्रपछि हवाई सेवा नियमित हुने र स्थानीयस्तरमा व्यावसायिक तथा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिए पनि त्यसको विपरीत विमानस्थल लामो समयदेखि बन्द अवस्थामा छ।

हवाई सेवा बन्द हुँदा रुकुम पश्चिमसँगै जाजरकोट र सल्यानका केही क्षेत्रका नागरिकले लामो तथा जोखिमपूर्ण सडक यात्रामा निर्भर हुनुपरेको छ। स्थानीयले करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको विमानस्थललाई प्रयोगविहीन हुन नदिई नियमित उडान सञ्चालन गर्न माग गरेका छन्।

प्रतिनिधिसभा सदस्य गोपाल शर्माले राज्यको असहयोगका कारण चौरजहारी विमानस्थलमा नियमित उडान हुन नसकेको बताए। विमान सञ्चालन गर्दा घाटा भए स्थानीय तहले व्यहोर्ने आशयको बुझाइका कारण समस्या देखिएको उनको भनाइ छ। पछिल्लो समय यस विषयमा पुनः व्यापक छलफल भइरहेकाले सकारात्मक नतिजा आउने सम्भावना रहेको उनले बताए।

स्थानीयले विमानस्थल सञ्चालनका लागि आवश्यक प्राविधिक समस्या समाधान, विमान कम्पनीसँग समन्वय र यात्रुको मागअनुसार उडान तालिका बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।