बाढी प्रभावित क्षेत्रमा बजेट अभाव हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता


काठमाडौं । 

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।

सोमबार सिंहदरबारमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा राज्यका सबै निकाय परिचालन भएको बताए।

छलफलमा जनप्रतिनिधिहरूले बाढीका कारण सडक तथा पुलमा क्षति पुग्दा राहत र पुनर्निर्माणमा समस्या भएको भन्दै तत्काल सडक सञ्चालन र वैकल्पिक पूर्वाधार निर्माण गर्न माग गरेका थिए।

नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले त्रिशूली नदी र आसपासका करिब १९ पुल बगेको तथा रसुवा–धादिङ–विदुर जोड्ने सडक अवरुद्ध हुँदा उद्धार र राहतमा कठिनाइ भएको जानकारी दिए।

उनले प्रभावित परिवारलाई होल्डिङ सेन्टरबाट सुरक्षित स्थानमा सार्न कोठा भाडा, खाद्यान्न, ग्यास चुलो तथा सिलिन्डरसहित प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने तयारी भइरहेको बताए।

प्रधानमन्त्री शाहसँग त्रिशूली पारी रहेको प्रदेशस्तरीय अस्पताल र बस्ती जोड्न ह्युमपाइप डाइभर्सन तथा बेलीब्रिज निर्माण गर्ने विषयमा समेत छलफल भएको थियो। तीनै तहका सरकारले समन्वय गरी आवश्यक पूर्वाधार तत्काल निर्माण गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको श्रेष्ठले बताए।

छलफलमा प्रभावित क्षेत्रमा सुरक्षित बस्ती विकासका लागि सांस्कृतिक, ऐतिहासिक तथा कृषि परिवेशलाई संरक्षण गर्दै ल्यान्डपुलिङमार्फत बस्ती बसाल्न समेत सुझाव दिइएको थियो।