तीजमा पहिलोपटक सर्वसाधारणका लागि खुल्यो केदारनाथ मन्दिर,साँझ महाआरती गरिँदै


भक्तपुर ।

 हरितालिका तीजको अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ।

तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित मन्दिर यसअघि बुद्धजयन्ती (वैशाख पूर्णिमा) र महाशिवरात्रिमा मात्र खुल्ने गरेको संस्कृति अध्येता गणेश रञ्जितकारले जानकारी दिए। तीजको व्रत बसेका श्रद्धालुलाई दर्शनमा सहज होस् भन्ने उद्देश्यले बिहानदेखि मन्दिर खुला गरिएको हो।

मन्दिर खुलेसँगै दर्शनका लागि महिला श्रद्धालुको उल्लेख्य सहभागिता देखिएको छ। यसै अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित प्रसिद्ध चारधाम क्षेत्रमा साँझ एकैसाथ भव्य महाआरती आयोजना गरिने भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालले जानकारी दिए।