काठमाडौँ ।
काभ्रेको बल्थलीमा जारी एमाले कार्यदलको बैठकमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विषयमा तीव्र बहस भएको छ। कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शङ्कर पोखरेलका दुई प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम लगभग सकिएको छ।बैठकमा बहुमत सदस्यहरूले वर्तमान अवस्था र नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने भन्दै पुनर्गठन आवश्यक रहेको धारणा राखेका छन्।
उनीहरूले निकासका लागि विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठक बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।तर कार्यदल संयोजक बादलले भने विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठक बोलाउने प्रस्ताव अस्वीकार गरेका छन्। उनले अहिले नेतृत्व परिवर्तनभन्दा नेतृत्वको रक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने समय भएको बताएका छन्।
महासचिव पोखरेलको प्रतिवेदनको १७ नम्बर बुँदामा भने निकासका लागि विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठक बोलाउन सकिने विकल्प सुझाइएको छ। उक्त प्रस्तावप्रति अध्यक्ष केपी शर्मा ओली पक्षसमेत असहमत रहेको बताइएको छ।प्रतिवेदनमाथि सदस्यहरूको धारणा सकिएपछि दुवै प्रतिवेदनलाई समेटेर साझा निष्कर्ष तयार गर्ने विषयमा नेताहरूबीच छलफल भइरहेको छ।











प्रतिक्रिया