मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै


काठमाडौँ । 

 तराई–मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ। छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ।

सूर्यास्तपछि घर–आँगन गोबरले लिपेर चामलको पिठोबाट अरिपन बनाइन्छ। अरिपनमा पूजाका सामग्री राखी माटोका नयाँ भाँडामा दही, केरा, मिठाई, खीर, पुरीलगायतका परिकार चढाउने चलन छ।

पूजापछि चन्द्रमालाई अर्घ्य दिई प्रसाद ग्रहण गर्ने तथा आफन्त र इष्टमित्रलाई बाँड्ने गरिन्छ। परिवारको सुख, समृद्धि र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण चौठचन्द्र पर्व विशेष श्रद्धाका साथ मनाइन्छ।

धार्मिक मान्यताअनुसार ज्योतिष तथा तत्कालीन नरेश हेमांगद ठाकुरले यस पर्वको सुरुवात गरेका थिए। मधेशमा विशेष उल्लासका साथ मनाइने चौठचन्द्र भारतका केही राज्यमा समेत प्रचलित रहेको छ।