४८ प्रभावित, १८ पूर्ण ध्वस्त, ३० मा आंशिक क्षति

पुनर्निर्माणका लागि १ अर्ब ११ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान

658
Shares

काठमाडौँ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण तीन जिल्लाका कुल ४८ वटा पुरातात्विक तथा ऐतिहासिक सम्पदामा गम्भीर क्षति पुगेको छ । पुरातत्व विभागका अनुसार बाढीले १८ वटा सम्पदा पूर्ण रूपमा ध्वस्त पारेको छ भने ३० वटा सम्पदामा आंशिक क्षति पु¥याएको छ । विभागको तथ्यांकअनुसार रसुवामा ५, नुवाकोटमा ३९ र धादिङमा ४ वटा सम्पदा क्षतिग्रस्त भएका छन् ।

क्षतिग्रस्त सम्पदामध्ये रसुवाका सबै ५ वटै सम्पदा पूर्णरूपमा नष्ट भएका छन् । रसुवाको प्रमुख पहिचानका रूपमा रहेको स्याफ्रुबेँसी सामुदायिक म्युजियम पूर्ण क्षतिग्रस्त भई त्यहाँ रहेका कुनै पनि सामग्री बाँकी रहेका छैनन् । यसैगरी ऐतिहासिक रसुवागढी, पुरानो गुम्बा, टिमुरेका चैत्यहरू, लाटा देवता मन्दिर र वेत्रावतीस्थित राममन्दिर पूर्णरूपमा ध्वस्त भएका छन् ।

विभागका विश्व सम्पदा शाखा प्रमुख देवेन्द्र भट्टराईले यो प्रारम्भिक तथ्यांक मात्र भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीले सञ्चारमाध्यममा आएका, सामाजिक सञ्जालमा देखाइएका, स्थानीयले जानकारी गराएका र फोटोमा देखिएको आधारमा संख्या पहिचान गरेका हौँ, संख्या बढ्न पनि सक्छ ।’

सडक सञ्जाल विच्छेद भएका कारण विभागको टोली सबै प्रभावित क्षेत्रमा पुग्न नसकेको उहाँले बताउनुभयो । ‘विभागको टोली सवारीसाधन पुग्न नसकेको कारण हालसम्म अध्ययन गर्न पुग्न सकेका छैनौँ, अझै तथ्यांक पत्ता लगाउने क्रममा छौँ । पुग्न सकेको स्थान गल्छी र नुवाकोटको ढुंगे र त्रिशूलीको केही घरमा मात्र हो’ –प्रमुख भट्टराईले थप्नुभयो ।

सवारीसाधन सञ्चालन हुनासाथ विस्तृत अध्ययन थालिने विभागका महानिर्देशक डा. सुरेशसुरस श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सकभर यो साताभित्र पुरातत्वविज्ञसहितको टोली पुगेर अध्ययन गर्नेछ । त्यसपछि सबै विवरण तयार गर्नेछौँ ।’ पुरातत्व विभागले पूर्ण र आंशिक रूपमा क्षति भएका सम्पूर्ण सम्पदाको पुनर्निर्माण तथा पुनरुत्थान गर्न करिब १ अर्ब ११ करोड रुपैयाँ लाग्ने प्रारम्भिक प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइसकेको छ ।

नुवाकोट र व्यापक क्षति धादिङका ऐतिहासिक स्थलमा
बाढीले नुवाकोटका दर्जनौँ पुरातात्विक सम्पदामा ठूलो क्षति पु¥याएको छ । नुवाकोटको पावरहाउसस्थित सुगतपुर विहार, त्रिशूली गुम्बा, इन्द्रायणीघाट चैत्य र विहार, त्रिशूली बजारको राममन्दिर, वीरभद्रेश्वर तथा त्रिशूली भगवती मन्दिर पूर्णरूपमा क्षति भएका छन् ।
त्यसैगरी नुवाकोट देवीघाटको ६४ लिंगमध्ये एक मानिने भैरवेश्वर शिवालय, चैत्य र वरका रुखमुनिका मन्दिरहरू, देवीघाटको पाटी, पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको ऐतिहासिक चितास्थल र रणभुवनेश्वरी मन्दिर पूर्णरूपमा ध्वस्त भएका छन् । धादिङको गल्छीस्थित मलामी सत्तल पनि बाढीले पूर्णरूपमा ढालेको छ ।

पूर्णरूपमा क्षति भएका सम्पदामध्ये करिब दुई दर्जन ऐतिहासिक महत्वका छन् । आंशिक क्षति पुगेका ३० वटा सम्पदाको पनि धेरैजसो भाग कामै नलाग्ने गरी बिग्रिएको छ । महानिर्देशक डा. श्रेष्ठले स्थलगत अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गर्ने बताउँदै सहयोगको अपिल गर्नुभयो । उहाँले आग्रह गर्नुभयो– ‘तपाईँहरू सञ्चारकर्मी हुनुहुन्छ, तपाईँहरूलाई पनि जानकारी भएको सम्पदाको विषयमा विभागलाई जानकारी दिएर सहयोग गर्न अनुरोध गर्दछौँ ।’

पुनर्निर्माणको अन्तिम चरणमा पुगेको मन्दिर ध्वस्त, सन्धिको ढुंगा गायब
विश्व सम्पदा शाखा प्रमुख भट्टराईका अनुसार पूर्ण क्षति भएको नुवाकोटको रणभुवनेश्वरी मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगिसकेको थियो । उहाँले दुःखी हुँदै भन्नुभयो– ‘आउँदो वर्ष सकिने योजनामा थियो, बाढीले पूरै ध्वस्त बनायो ।’ प्राप्त तथ्यांकअनुसार नेपाल–चीन युद्धसँग जोडिएको ऐतिहासिक नुवाकोटको वेत्रावती सन्धिसम्बन्धी ढुंगा बाढीपछि हराएको छ । विभागले सो ऐतिहासिक ढुंगा बाढीको लेदोमा पुरिएको हुन सक्ने आशंका गरेको छ ।

यसैगरी वेत्रावतीको उत्तरगया धाम, शिव मन्दिर, तुप्चेको सुन्दरादेवी साततले मन्दिर र आइटारको गणेश मन्दिरमा आंशिक क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३० वटा सम्पदा क्षति भएको प्रतिवेदन तयार पारेको भए पनि पुरातत्व विभागले हालसम्म ४८ वटाको नामावली सकंलन गरिसकेको छ । यो संख्या अझै बढ्न सक्ने विभागको आँकलन छ ।
यी हुन् क्षति भएका सम्पदाहरू
रसुवा
१. रसुवा रसुवागढी
२. पुरानो गुम्बा
३. टिमुरे चैत्यहरू
४. लाटादेवता मन्दिर
५. राममन्दिर पूर्ण क्षतिग्रस्त

नुवाकोट
६. वेत्रावती सन्धि ढुंगा
७. उत्तरगयाधाम
८. उत्तरगया शिव मन्दिर

९. सुन्दरादेवी साततले मन्दिर
१०. गणेशमन्दिर
११. सुगतपुर विहार
१२. त्रिशूली गुम्बा
१३. इन्द्रायणी घाट, चैत्य र विहार
१४. त्रिशूली बजार राममन्दिर (नदी किनारको) पूर्ण क्षतिग्रस्त
१५. कुलभक्तेश्वर महादेव मन्दिर
१६. रातो मत्च्छेन्द्रनाथ मन्दिर
१७. त्रिशूली बजार शिव मन्दिर (चन्द्रभानेश्वर) र सरस्वती मन्दिर मत्च्छेन्द्रनाथको ठीक अगाडिको कोर्टयार्ड भित्रको
१८. त्रिशूली बजार गणेशमन्दिर मत्च्छेन्द्रनाथ सँगैको
१९. त्रिशूली बजार चैत्यहरू मत्छेन्द्रनाथ सँगैको
२०. त्रिशूली बजार वीरभद्रेश्वर
२१. त्रिशूली बजार त्रिशूली भगवतीमन्दिर
२२. त्रिशूली बजार नारायणमन्दिर कृष्णमन्दिर भन्ने गरिएको
२३. ढुंगे विहार
२४. विहार स्कुलसँगैको
२५. मस्जिद बजार नजिक
२६. मस्जिद बसपार्कनजिक
२७. भीमसेनमन्दिर
२८. त्रिशूली तल्लोबजार त्रिशूली गणेशद्य
२९. जाल्पादेवी मन्दिर
३०. देवीघाट भैरवेश्वर शिवालय (६४ लिंगमध्ये एक मानिएको)
३१. देवीघाट गणेशमन्दिर
३२. देवीघाट चैत्य
३३. नुवाकोट देवीघाट वरको रुखमुनिका मूर्तिहरू
३४. देवीघाट मस्जिद
३५. नीलकण्ठधाम र परिसरको मन्दिर
३६. देवीघाट पाटी
३७. देवीघाट पृथ्वीनारायण शाहको दाहसंकार गरिएको चिता
३८. रणभुवनेश्वरी मन्दिर हाल जीर्णोद्धारको क्रममा रहेको
३९. धर्ममुक्तेश्वर महादेवमन्दिर
४०. गौरेश्वर धाम
४१. शिवमन्दिर भानु अर्यालले स्थापना गरेको भनिएको
४२. वागेश्वरी मन्दिर
४३. सिद्धेश्वर मन्दिर
४४. नुवाकोट÷तारुकाघाट तारकेश्वर मन्दिर
धादिङ
४५. महादेव मन्दिर (छाँगेश्वर)
४६. महेश दोभान अमलेश्वर मन्दिर पूर्ण क्षति
४७. वेल्खु इन्द्रायणी माई आंशिक क्षति
४८. धादिङ÷गल्छी–२ भुतिहा ठाँटी (मलामी सत्तल)