आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत


काठमाडौँ ।

हिन्दू धर्मावलम्बी नेपाली महिलाले आज देवादिदेव महादेव र पार्वतीको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहितले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने धार्मिक परम्परा छ।

धार्मिक मान्यताअनुसार हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन कठोर तपस्या गरी व्रत बसेको स्मरणमा हरितालिका तीज मनाउने गरिएको हो। पार्वतीलाई उनका सखीहरूले हरण गरी गुप्त स्थानमा लगेर राखेकाले ‘हरितालिका’ नाम रहन गएको धर्मशास्त्रीय मत छ।

तीजका अवसरमा महिलाहरू शिव–पार्वतीको पूजा तथा उपासना गर्नुका साथै सामूहिक रूपमा नाचगान र तीजका गीतमार्फत आफ्ना भावना तथा मनोभावना व्यक्त गर्छन्।

व्रत निराहार, जलाहार वा फलाहार गरी बस्न सकिने बताइएको छ। स्वास्थ्य अवस्था कमजोर भएका वा निराहार बस्न नसक्नेले फलफूल, दूध, पानीलगायत स्वास्थ्यलाई अनुकूल हुने खानेकुरा सेवन गर्न सक्ने धार्मिक ग्रन्थमा उल्लेख छ। औषधि सेवन गर्दा पनि व्रत भङ्ग नहुने मान्यता रहेको छ।