काठमाडौं ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। भदौ २८ गते साँझ ६ः३० बजेसम्म सेनाले विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १५७ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ८७४ नेपाली र २८३ जना विदेशी नागरिक छन्।
रसुवागढी जलविद्युत आयोजनामा नेपाली तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले सुरुङभित्र खोजी गरिरहेको छ। लाङटाङ जलविद्युत आयोजनामा ड्रोन प्रयोग गरेर गरिएको खोजीमा हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ। चिलिमे हाइड्रोपावरको सुरुङमा एक एक्स्काभेटर र एक लोडर प्रयोग गरी भग्नावशेष हटाउने काम भइरहेको छ।
हालसम्म करिब ८५ मिटर क्षेत्र सफा गरिएको छ। सुरुङ नजिक खोला वारपारका लागि तुइन जडान गर्ने काम पनि भइरहेको छ। यस्तै, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ए र त्रिशूली–३बी आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा पनि संयुक्त टोलीले खोजी जारी राखेको छ। त्रिशूली–३बीमा तीन एक्स्काभेटर र एक ब्याकहो लोडर प्रयोग गरी आयोजनाको आवासगृह रहेको गहिराइसम्म पुगेर खोजी भइरहेको छ। जमिनतर्फ रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोजी भइरहेको छ। स्याफ्रुवेशी क्षेत्रमा तीन छुट्टाछुट्टै टोली परिचालन गरिएको छ।
सेनाका अनुसार टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन्। उनीहरूले घाइतेको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा सहयोग गरिरहेका छन्। त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज मात्रै ५२ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म ३ हजार ७८४ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्।
उता, धादिङको शीतलबजारमा पृथ्वी राजमार्ग खुलाउन कडा चट्टान फुटाउने ब्लास्टिङ कार्य भइरहेको छ। मलेखूमा स्थानीय तहसँगको समन्वयमा बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण भइरहेको छ भने बेत्रावतीमा त्रिशूली नदी वारपारका लागि अस्थायी संरचना निर्माणमा समेत सहकार्य भइरहेको सेनाले जनाएको छ।











प्रतिक्रिया