काठमाडौं ।
काठमाडौं महानगरपालिकाले विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीका लागि २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ।
महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा लक्षित वर्गका बिरामीलाई कीर्तिपुर अस्पताल मा निःशुल्क उपचार गरिनेछ। यसका लागि काठमाडौं महानगरपालिका र जनस्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ।
महानगरपालिकाले उपचारमा आवश्यक औजार तथा उपकरण र सेवा सञ्चालनका लागि अस्पताललाई २ करोड रुपैयाँ सहयोग गरेको छ। त्यसमध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’मा राखिनेछ।
उक्त कोषबाट लक्षित वर्गका प्रत्येक बिरामीको उपचारमा अधिकतम २ लाख रुपैयाँसम्म खर्च व्यहोरिनेछ। यस आर्थिक वर्षमा रकम खर्च हुन नसके आगामी वर्षमा समेत जलन उपचारमै प्रयोग गरिने महानगरपालिकाले जनाएको छ।
कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पैसाको अभावमा कसैलाई पनि जलन उपचारबाट वञ्चित हुन नदिन कोष स्थापना गरिएको बताइन्।











प्रतिक्रिया