नर्भिकले ४२ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौँ।

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट कुल ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नर्भिकको हालै सम्पन्न छैटौँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२ दशमलव १०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णयसमेत गरेको छ । सो प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायतका आवश्यक कामकारबाहीको अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिएको छ ।

अस्पतालको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२÷८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रहेको छ । सो अवधिमा कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ । फार्मेसीसमेत समावेश गर्दा अस्पतालको कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

नर्भिकले आर्थिक वर्ष २०८२÷८३ मा १ लाख ७९ हजारभन्दा बढी बिरामीलाई बहिरंग सेवा प्रदान गरेको जनाएको छ । यसैगरी ९ हजारभन्दा बढीले अन्तरंग सेवा र ६ हजारभन्दा बढीले आकस्मिक सेवा लिएका छन् । अस्पतालले सो अवधिमा ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको जनाएको छ ।