काठमाडौँ।
नेपाली सेनाले विपद् प्रभावित विभिन्न क्षेत्रबाट सोमबार साँझसम्म थप २० जनाको हवाई उद्धार गरेको छ। नेपाली सेनाका अनुसार आज साँझ ५ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका व्यक्तिको संख्या ४ हजार १५७ पुगेको छ।
हालसम्म उद्धार गरिएकामध्ये ३ हजार ८७४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
यसैबीच, रसुवागढी जलविद्युत आयोजनामा नेपाली सेना र विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र खोजी कार्य जारी राखेको छ। लाङटाङ जलविद्युत आयोजनामा खटिएको संयुक्त टोलीले टनेलको सम्पूर्ण क्षेत्रमा खोजी गरे पनि हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ।
चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि खोज तथा उद्धार कार्य जारी छ। स्याफ्रुबेसीदेखि टनेलसम्म भारी उपकरण लैजान करिब १ हजार ५० मिटर बाटो निर्माण गरिएको छ। टनेलभित्र आवतजावतका लागि ६/६ मिटर लम्बाइका चार वटा ठूला पाइप प्रयोग गरी बाटो तयार गर्ने काम भइरहेको छ। साथै, टनेलभित्र एक्स्काभेटर प्रयोग गरेर करिब ६५ मिटरसम्म लेदो हटाइएको र थप खोजी भइरहेको छ।
माथिल्लो त्रिशूली–१ अन्तर्गत हाकुबेशीस्थित अडिट–३ टनेल, त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेल क्षेत्र र त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना क्षेत्रमा पनि नेपाली सेनासहितका संयुक्त टोलीले खोज तथा उत्खनन कार्यलाई निरन्तरता दिएका छन्।
जमिनतर्फ पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायतका क्षेत्रमा नेपाली सेनाले पैदल गस्तीमार्फत खोजी गरिरहेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ८ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट सोमबार ५५ जनाले स्वास्थ्य सेवा लिएका छन्। सेनाका अनुसार हालसम्म यी स्वास्थ्य केन्द्र तथा मेडिकल पेट्रोलबाट ३ हजार ७२० जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्।












प्रतिक्रिया