काठमाडौँ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स समूह कुनै पनि देशको विरुद्धमा नरहेको बताएका छन्। उनले सबै देशलाई साथमा लिएर अघि बढ्ने उद्देश्यका साथ ब्रिक्सले विश्व मञ्चमा आफ्नो छुट्टै पहिचान बनाएको बताए।
आज नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मोदीले विगत दुई दशकमा ब्रिक्सले विश्वव्यापी मञ्चमा महत्वपूर्ण स्थान बनाएको उल्लेख गरे।
उनले ब्रिक्स सदस्य राष्ट्रहरूले एकअर्काको दृष्टिकोणको सम्मान गर्दै सहमतिका आधारमा अघि बढिरहेको बताए। अब समूहभित्रको एकता र सहमतिलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्ने समय आएको उनको भनाइ थियो।
विश्वव्यापी शासन प्रणालीमा सुधार आवश्यक रहेको भन्दै मोदीले त्यसका लागि १० बुँदे रोडम्याप अघि सारेका छन्। उनले विश्वमा देखिएका विभिन्न चुनौतीको सामना गर्न ग्लोबल साउथका मुलुकहरू नियम पालना गर्ने मात्र नभई नियम निर्माणमा समेत सहभागी हुनुपर्ने बताए।
संयुक्त राष्ट्र सुरक्षा परिषद्को सुधारलाई थप लम्ब्याउन नहुनेमा पनि मोदीले जोड दिए। उनका अनुसार ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि महत्वपूर्ण निर्णय प्रक्रियामा भने पछाडि छन्।
मोदीले विश्व व्यवस्थालाई केही मुलुकको विशेषाधिकारमा सीमित नराखी सबै देशको समान सहभागिता र आवाज सुनिश्चित हुने साझेदारीको मञ्चका रूपमा विकास गर्नुपर्ने धारणा राखे। मानवताको विकासलाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।
ब्रिक्स सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसूद पेजेश्कियान, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो लगायतका नेताहरूको उपस्थिति रहेको थियो।












प्रतिक्रिया