विपद्को प्रारम्भिक व्यवस्थापन कमजोर हुँदा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ


काठमाडौँ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद् आउनुअघि आवश्यक तयारी र विपद्का समयमा प्रभावकारी कदम चाल्न नसक्दा ठूलो मानवीय क्षति भएको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले प्राकृतिक विपद्को जोखिम कम गर्न पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए। विपद् सुरु हुनेबित्तिकै समयमै उद्धार, राहत तथा व्यवस्थापनका काम अघि बढाउन सके धेरै जनधनको क्षति रोक्न सकिने उनको भनाइ थियो।

देशमा आएको ठूलो प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए।

घिसिङले जेन–जी आन्दोलनपछि सरकारले युवाहरूको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप पनि लगाए। सरकारप्रति युवाहरूमा निराशा बढ्दै गएको र रोजगारी तथा अवसरको अभावका कारण विदेशिने युवाको संख्या थप बढिरहेको उनले बताए।

सरकारले साना कृषकलाई भन्दा ठूला लगानीकर्तालाई लाभ पुग्ने खालका नीति अघि बढाइरहेको आरोप लगाउँदै उनले कृषि क्षेत्रको विकाससँगै साना किसानको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे।

उज्यालो नेपाल पार्टी अन्य कुनै राजनीतिक दलमा विलय नहुने पनि अध्यक्ष घिसिङले स्पष्ट पारे। आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक राजनीतिक शक्तिका रूपमा पार्टीलाई अघि बढाउने उनको भनाइ थियो।

आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट बृहत् भेला आयोजना गरिने उनले जानकारी दिए। साथै, गाउँ–गाउँमा संगठन विस्तार गर्नुका साथै सदस्यता अभियानलाई समेत तीव्रता दिइने उनले बताए।