गैरीगाउँबाट ७०५ ग्यास सिलिन्डर बरामद, कालोबजारी आरोपमा स्टोर सञ्चालक पक्राउ


काठमाडौँ।

प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ७०५ वटा ग्यास सिलिन्डर नियन्त्रणमा लिएको हो।

ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारामा रहेको जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार लुइँटेलले उपभोक्तालाई ग्यास महँगो मूल्यमा बिक्री गर्दै आएका थिए। एसपी रामेश्वर कार्कीले लुइँटेलले एउटा सिलिन्डर २ हजार ७५० रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको जानकारी दिए।

बरामद गरिएका सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा नयाँ सिलिन्डरसमेत ५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको खुलेको एसपी कार्कीले बताए।