शिक्षामन्त्री पोखरेल र सातै प्रदेशका शिक्षामन्त्रीबीच छलफल


काठमाडौँ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातै प्रदेशका शिक्षामन्त्रीसँग छलफल गरेका छन्।

बिहीबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुद क्षेत्रमा संघ र प्रदेश सरकारबीच सहकार्य र समन्वय थप मजबुत बनाउने विषयमा छलफल भएको छ। छलफलमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकार समन्वय लगायतका विषयमा विचार–विमर्श भएको छ।

राष्ट्रिय खेलकुद निर्धारित समयमै सम्पन्न गर्ने, टिभेट विधेयक आपसी छलफलबाट टुंग्याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

छलफलमा शिक्षामन्त्री पोखरेलले संघीय सरकार प्रदेश सरकारसँग मिलेर काम गर्न चाहेको बताउँदै शिक्षा र खेलकुदका क्षेत्रमा दुवै तहका सरकारबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिए। मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन मन्त्रालयको प्राथमिकतामा रहेको बताए।

कोसी प्रदेश सरकारकी सामाजिक विकासमन्त्री गीता तिम्सीनाले राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्नेमा जोड दिइन्। उनले तीन तहका सरकार मिलेर सिर्जनशिल र दूरदर्शी योजना बनाएर जानुपर्ने बताइन्।

मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याणमन्त्री लखन दास तत्माले शिक्षा प्रभावकारी नभएसम्म देश समृद्ध हुन नसक्ने बताए।

त्यस्तै, बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरे, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा (थापा) र कर्णाणी प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले सहभागी थिए। उनीहरूले पनि शिक्षा तथा खेलकुद क्षेत्रमा संघ र प्रदेश सरकारबीच सहकार्य तथा समन्वय थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुंगानाले शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाइनुपर्नेमा जोड दिइन्। नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा निरन्तरताका लागि तीन तहका सरकारबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।