काठमाडौं ।
लगातारको बाढी तथा पहिरोका कारण देशभरका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा एकतर्फी तथा समयअनुसार सवारी सञ्चालन भइरहेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै, थाक्रे गाउँपालिका–९ स्थित सोयाङखोलामा पहिरोका कारण त्रिभुवन राजपथसमेत अवरुद्ध भएको छ । प्रहरीका अनुसार बाढी तथा पहिरोका कारण प्रभावित प्रमुख सडकखण्डहरूमा रसुवाको उत्तरगया–५ क्षेत्रमा त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ । नुवाकोटको शिवपुरी क्षेत्रमा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ । उक्त सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
बेलकोटगढी क्षेत्रमा बाढीका कारण सडकसमेत प्रभावित भएको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौंको चन्द्रागिरि–२ विस्पानीमा पहिरोका कारण काठमाडौं–धादिङ सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । धादिङकै बेनीघाट रोराङ–१० स्थित ज्वाङखोला क्षेत्रमा पनि सडक एकतर्फी सञ्चालनमा रहेको छ ।
काभ्रेको खुकुर्ट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिम रहेकाले अवस्थाअनुसार सवारी साधन व्यवस्थापन भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बाढी, पहिरो तथा सडकको अवस्थालाई ध्यान दिँदै यात्रा गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । प्रभावित सडकखण्डमा जुनसुकै समयमा पनि थप अवरोध हुन सक्ने भएकाले यात्रु तथा चालकलाई सतर्क रहन आग्रह गरिएको छ ।












प्रतिक्रिया