भोटेकोशी बाढी : चितवनमा फेला परेका ३६३ शवमध्ये १४ जनाको पहिचान


काठमाडौँ।

चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको डिएनए नमूना संकलन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कूल ३६३ वटा शव फेला परेका छन् । तीमध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण र कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको छ ।

हालसम्म फेला परेका शवमध्ये १४ वटा शवको मात्र सनाखत (पहिचान) हुन सकेको छ । पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको एसपी पौडेलले जानकारी दिए ।

पहिचान खुल्न नसकेका ३४९ वटा शवको सुरक्षित व्यवस्थापन गरिसकिएको उहाँले बताउनुभयो । शव व्यवस्थापन कार्य गत १३ भदौदेखि सुरु गरिएको थियो । व्यवस्थापन गरिएका सबै शवको भविष्यमा आफन्तको डिएनएसँग मिलान गर्न मिल्नेगरी डिएनए नमुना सुरक्षित राखिएको छ ।

हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डिएनए नमुना सङ्कलनलाई प्राथमिकता दिएको छ । हालसम्म जिल्लामा ७५ जना आफन्तको डिएनए नमूना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । संकलन गरिएका नमूनामध्ये भारतीय नागरिकका आफन्तको डिएनए नमूना पनि रहेको प्रहरीले जनाएको छ ।