काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको पक्षमा आफूलाई उभ्याउँदै पीडितमाथि सामाजिक सञ्जालमार्फत हुने अपमान र साइबर बुलिङप्रति कडा आपत्ति जनाएका छन्।
संसद् बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गते बुधबार भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गरे। उनले यो घटना सामान्य बाढी मात्र नभई जलवायु परिवर्तनबाट सिर्जित ठूलो अन्यायका रूपमा लिनुपर्ने बताए।
उनका अनुसार भोटेकोशी घटनामा ज्यान गुमाउनेहरू जलवायु परिवर्तनबाट उत्पन्न अन्यायको बलिदानी बन्न बाध्य भएका छन्। ठूलो विपद्का बीच पनि प्रभावित क्षेत्रका नागरिकले एकअर्कालाई साथ दिँदै पुनः उठ्ने प्रयास गरिरहेको उनले बताए।
लामिछानेले विपद्का कारण शोकमा रहेका नागरिकमाथि सामाजिक सञ्जालबाट प्रहार गर्ने र उनीहरूको पीडामाथि टिप्पणी गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे।
‘भोटेकोशी बाढीको विपद्मा शोकमा परेकाहरूमाथि साइबर बुलिङ गर्ने, शोकमा रहेका नागरिकमाथि प्रहार गर्ने अन्धसमर्थक हामीलाई चाहिँदैनौँ। हामीलाई त उनीहरूको आँसु पुछ्ने मान्छे चाहिएको छ,’ उनले भने।
उनले रास्वपाका नेता तथा कार्यकर्ताले बाढीपीडितबारे तुच्छ टिप्पणी वा साइबर बुलिङ गरेको प्रमाणित भए कडा कारबाही गरिने चेतावनी पनि दिए। त्यस्तो गतिविधिमा संलग्न हुनेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने उनको भनाइ छ।
‘पीडामा परेका नागरिकको चीत्कारमा आँसुको व्यापार गर्ने मानिस रास्वपालाई चाहिएको छैन,’ लामिछानेले भने।
विपद्ले कुनै राजनीतिक दल वा समूह छुट्याएर क्षति नगर्ने भन्दै उनले बाढीपीडितको अपमान गर्ने जोसुकै भए पनि आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पारे।
‘पीडितहरू सरकारसँग आशा राखेर गुनासो गर्छन्। उनीहरूको गुनासोलाई लिएर साइबर बुलिङ गर्नेहरू हाम्रा कार्यकर्ता हुन सक्दैनन्,’ उनले भने, ‘विपद्ले कुनै दलको नेता वा कार्यकर्ता भनेर हान्दैन। त्यसैले बाढीपीडितलाई अपमान गर्ने जोकोही हामीलाई चाहिँदैन।’












प्रतिक्रिया