काभ्रे।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टले ५ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
भाद्र १० गते आएको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै रिसोर्टले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
रिसोर्टका प्रबन्ध निर्देशक श्यामकाजी महतले प्राकृतिक विपत्तिका कारण धेरै परिवारले आफन्त गुमाउनुका साथै घरबारविहीन हुनुपरेको र यसबाट सिंगो मुलुक स्तब्ध बनेको बताए। विपद्का कारण समग्र पर्यटन क्षेत्रसमेत प्रभावित र दुःखी बनेको उनको भनाइ छ।
“विपत्तिको यस्तो अवस्थामा पर्यटन क्षेत्रबाट पनि राज्य र बाढी प्रभावित नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने होटल व्यवस्थापनको निर्णयअनुसार सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हौँ,” महतले भने।
उनले विपत्तिबाट पीडित नागरिकका लागि तत्काल राहत, स्वास्थ्य सेवा, सुरक्षा तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकबीच सहकार्य र एकता आवश्यक रहेको बताए।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका हुने भन्दै महतले पर्यटन व्यवसायी तथा अन्य निजी क्षेत्रलाई पनि आफ्नो क्षमता र स्रोतअनुसार सहयोगमा जुट्न आग्रह गरे।












प्रतिक्रिया