भदौ २४ को ‘विध्वंस’को सत्यतथ्य खोज्न प्रचण्डको माग


काठमाडौं । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गहिरो अनुसन्धान गरी वास्तविक दोषीलाई कारबाही गर्न माग गरेका छन्।

भिडियो सन्देश जारी गर्दै प्रचण्डले भदौ २४ को घटना नेपालको इतिहासकै रहस्यमय र भयानक घटनामध्ये एक भएको बताए। घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयाम रहेको भन्दै उनले वर्तमान भूराजनीतिक अवस्थालाई समेत ध्यानमा राखेर बहुआयामिक अनुसन्धान आवश्यक रहेको उल्लेख गरे।

एक वर्ष बितिसक्दा पनि घटनाको सत्यतथ्य बाहिर ल्याउने काम अपेक्षित रूपमा अघि बढ्न नसकेको उनको आरोप छ। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत कार्यान्वयनमा नआएको भन्दै उनले प्रतिवेदन दराजमा थन्क्याइएको टिप्पणी गरे।

भदौ २३ गते युवाहरूले उठाएको सुशासन र पारदर्शिताको मागलाई भदौ २४ को घटनाले सम्बोधन नगरेको प्रचण्डको दाबी छ। बरु उक्त घटनाले जेनजी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गरेको उनले बताए।

घटनाको वास्तविकता पत्ता लगाउन गम्भीर अध्ययन–अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा प्रचण्डले जोड दिएका छन्।