काठमाडौँ ।
भोटेकोशी–त्रिशूली बाढी तथा पहिरोमा परी घाइते भएकामध्ये ५१ जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्र (एचईओसी) ले सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी विभिन्न अस्पतालमा भर्ना भएका ३ सय २७ जनामध्ये २ सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार ३० जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ भने चार जनाको उपचारका क्रममा मृत्यु भएको छ । बाढी प्रभावित क्षेत्रमा हालसम्म ६ हजार २ सय १० जनाभन्दा बढी घाइतेले स्थलगत तथा अस्पतालबाट स्वास्थ्य सेवा लिइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
उपत्यका तथा रसुवा क्षेत्रका अस्पतालमा उपचाररत घाइतेमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेका छन् । शिक्षण अस्पतालमा बाढी तथा पहिरोमा परी ८१ जना घाइते उपचारका लागि ल्याइएकामा ५९ जना डिस्चार्ज भएका छन् । एक जनाको उपचारका क्रममा मृत्यु भएको र २१ जना अझै उपचाररत छन् । उपचाररत बिरामीमध्ये न्युरोसर्जरी, अर्थोपेडिक, प्लास्टिक सर्जरी तथा बर्न वार्डमा उपचार भइरहेको छ ।
राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्धमा ५० जना घाइते उपचारका लागि ल्याइएकामा ३७ जना डिस्चार्ज भएका छन् । ११ जना उपचाररत छन् भने एक जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ । एक जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । रसुवा जिल्ला अस्पताल, धुन्चेमा ८१ जना घाइते भर्ना भएकामा ५३ जना डिस्चार्ज भएका छन् । २७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
नुवाकोटको त्रिशूली अस्पताल, विदुरमा १८ जना घाइते भर्ना भएकामा १६ जना डिस्चार्ज भएका छन् । एक जनालाई रिफर गरिएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । नुवाकोटकै आयुर्वेदिक अस्पताल, पिपलटारमा उपचारका लागि भर्ना भएका २० जना डिस्चार्ज भइसकेका छन् । वीरेन्द्र सैनिक अस्पतालमा उपचारका लागि ल्याइएका चारै जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ । न्याम्सअन्तर्गतको वीर अस्पतालमा २३ जना भर्ना भएकामा ४ जना उपचाररत छन् भने १९ जना डिस्चार्ज भएका छन् ।
परोपकार तथा प्रसूति गृहमा १७ जना उपचारका लागि भर्ना भएकामा ४ जना उपचाररत र १३ जना डिस्चार्ज भएका छन् । नेपाल एपीएफ अस्पताल, बलम्बुमा ८ जना भर्ना भएकामा २ जना उपचाररत र ६ जना डिस्चार्ज भएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका एक जना, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूमा उपचारका लागि ल्याइएका ३ जना, नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका ३ जना, शुभम इन्टरनेशनल अस्पताल, मनमैजुमा उपचाररत ३ जना र ह्याम्स अस्पतालमा भर्ना भएका एक जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
ग्रीनसिटी अस्पताल, टोखामा ४ जना घाइते भर्ना भएकामा एक जना उपचाररत, एक जना रिफर र २ जना डिस्चार्ज भएका छन् । चिरायु नेशनल अस्पतालमा ३ जना भर्ना भएकामा २ जना उपचाररत र एक जना डिस्चार्ज भएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा ३ जना भर्ना भएकामा एक जना उपचाररत र २ जना डिस्चार्ज भएका छन् । बी एन्ड बी अस्पताल ग्वार्कोमा ३ जना भर्ना भएकामा एक जना उपचाररत र २ जना डिस्चार्ज भएका छन् । अदमघाट अस्पतालमा भर्ना भएका एक जना पनि उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयको एचईओसीले भोटेकोशी–रसुवा बाढीका लागि स्वास्थ्य क्षेत्रको अवस्था रिपोर्ट तथा प्रत्यक्ष आकस्मिक अनुगमन प्रणाली सञ्चालन गर्दै आएको छ । उक्त प्रणालीमार्फत प्रभावित क्षेत्रका अस्पतालमा रहेका घाइते, उपचाररत, डिस्चार्ज तथा रिफर गरिएका बिरामीको विवरण अद्यावधिक गर्ने व्यवस्था गरिएको छ । बाढीपछि घाइतेको उपचार व्यवस्थापनका लागि उपत्यकाका ठूला सरकारी तथा निजी अस्पतालसँगै रसुवा र नुवाकोटका स्वास्थ्य संस्थालाई समेत परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको उपलब्ध विवरणअनुसार अधिकांश घाइते उपचारपछि घर फर्किसकेका छन् । तर गम्भीर प्रकृतिका चोटपटक लागेका केही बिरामीको भने न्युरोसर्जरी, अर्थोपेडिक, प्लास्टिक सर्जरी तथा बर्नसम्बन्धी विशेषज्ञ सेवासहितको उपचार जारी रहेको स्वास्थ्य मन्त्रालयले यही भाद्र २२ गतेसम्म अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरेको छ ।












प्रतिक्रिया