चितवन ।
चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढी प्रभावित परिवारका लागि आर्थिक सहयोग र श्रमदान गरेका छन्। उनीहरूले सङ्कलन गरेको रकम तथा श्रमबाट खरिद र उत्पादन गरिएका बन्दोबस्तीका सामग्री सोमबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरेका हुन्।
कैदीबन्दीले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मञ्जन र काहियो गरी १२५ सेट सामग्री उपलब्ध गराएका छन्। उनीहरूले रु. १०० देखि रु. २ हजारसम्म रकम सङ्कलन गरी सहयोग गरेका हुन्।
करिब रु. ३ लाख ६७ हजार ३६ बराबरको सामग्री खरिद गरिएको र डसना तथा सिरानी भने कारागार परिसरमै श्रमदानमार्फत तयार पारिएको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेका कैदीबन्दीबाट गरिएको सहयोग उदाहरणीय र नमुनायोग्य रहेको बताए। चितवन कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन्, जसमा ७०८ पुरुष र ४२ महिला छन्।












प्रतिक्रिया