सामुदायिक विद्यालय अभिभावक संघद्धारा सहयोग गर्न आव्हान


भक्तपुर । 

  सामुदायिक विद्यालय अभिभावक संघले भोटेकोशीको विनाशकारी बाढी प्रभावित जनताको लागि सहयोग गर्न आव्हान गरेको छ । संघको हालै बसेको बैठकले संघको तर्फबाट प्रधानमन्त्री राहतकोषमा ५० हजार रुपियाँ  जम्मा गर्ने निर्णय गरेको हो । भोटेकोशी बाढीको वितण्डाले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा जनधनको क्षति पु¥याएको छ । सिङ्गो देश शोकमा डुबेको छ । बाढीबाट खवौं रुपियाँको भौतिक संरचना ध्वस्त भएको छ भने उद्धार कार्य चुनौतीपूर्ण बनेको संघले जनाएको छ । 

 संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ–धेरै विद्यार्थीले अभिभावक गुमाएका छन् भने बाबु आमाको काख रित्तिएको अवस्था छ । यस अकल्पनीय तथा ठूलो सङ्ख्यामा जनधनको क्षति पु¥याउने विनाशकारी घटनावाट संघ अत्यन्त मर्माहत बनेको छ। संघका अध्यक्ष रामप्रसाद न्यौपानेद्धारा जारी विज्ञप्तिमा सो घटनामा सहयोग गर्न सबै सराकारवाला निकायलाई अपिल गर्दै  संघका पदाधिकारी तथा सदस्यहरुबाट संकलन गरी सो एकमुष्ट रकम प्रदान गर्ने निर्णय गरेको छ । 

केन्द्रीय समितिको बैठकले तत्काल बाढीबाट विस्थापित भएका विद्यार्थीहरुको पठनपाठन कार्यलाई निरन्तरता दिन आवश्यक सहयोग उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।  यस अत्यन्त कठिन परिस्थितिमा संघले मानवीय कर्तव्य सम्झेर सबै वर्ग, समुदाय तथा व्यक्तिगत रुपमा पनि सहयोगको हात अघि बढाउन आम रुपमा आह्वान गरेको छ ।