बाढी पीडितलाई इजरायलको आकस्मिक राहत


काठमाडौं, 

इजरायलले धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका बाढी प्रभावित परिवारलाई आकस्मिक मानवीय सहायता उपलब्ध गराएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुगेकी नेपालस्थित इजरायली दूतावासकी उपप्रमुख जानान बेबारले प्रभावित समुदायलाई आपत्कालीन ‘गो–ब्याग’ तथा अत्यावश्यक सामग्रीसहितका बाकस हस्तान्तरण गर्नुभएको हो।

इजरायली दूतावासका अनुसार यो सहायता बाढीपछिको तत्कालीन राहत प्रतिक्रियाको पहिलो चरण हो। प्रभावित क्षेत्रमा आवश्यकताको अवस्था बुझ्न दूतावासले सम्बन्धित नेपाली निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। स्थलगत आवश्यकता थप पहिचान भएपछि आगामी दिनमा थप सहायता उपलब्ध गराउने तयारीसमेत रहेको दूतावासले जनाएको छ।

नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले विपत्तिको यस कठिन समयमा इजरायल नेपाली जनताको साथमा रहेको बताउनुभएको छ। बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै उहाँले प्रारम्भिक सहयोगले प्रभावित समुदायलाई तत्काल केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

बाढी प्रभावितको उद्धार तथा राहतमा खटिएका नेपाली सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य पहिलो उद्धारकर्ताप्रति समेत इजरायली दूतावासले ऐक्यबद्धता जनाएको छ।