दिक्तेलबजारमा भेटिएको बम सेनाद्वारा निष्क्रिय

0
Shares

खोटाङ

  खोटाङको दिक्तेलबजारमा फेला परेको नेपोलाइट नामक विस्फोटक पदार्थ बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ  । बेवारिसे अवस्थामा स्थानीयले भेटेका बमलाई रणभीम गण मुडे ब्यारेकका बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

पुरानो बेसक्याम्प नजिक जमिन खन्ने क्रममा स्थानीयले आइतबार साँझ फेला पारेको बम सोमबार निष्क्रिय गरिएको गणपति प्रमुख सेनानी पवन कार्कीले जानकारी जनाउनुभयो ।  बेवारिसे अवस्थामा भेटिएको बम नेपाल प्रहरीले सोही स्थानमै रातभर सुरक्षित राखेको थियो ।  

दिक्तेलबजारको मध्येभागमा पर्ने बेसक्याम्पमा नेपालमा भएको दश वर्षे द्वन्द्वकालका बेला सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले आफ्नो सुरक्षाका लागि बेसक्याम्पमा विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जनाउनुभयो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सशस्त्र द्वन्द्वको समयमा बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज राखिएको थियो । सुरक्षा फौज अन्यत्र सारिएपछि बेसक्याम्प आसपासमा यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ बम फेला पर्ने गरेको थियो ।

व्यक्तिको जग्गामा राखिएको बेसक्याम्प सरेर अन्यत्र गएपछि स्थानीयले खेतीपातीका काम गर्दा बम फेला पार्ने गरेका छन् । बेसक्याम्पमा पटक–पटक अलपत्र छाडिएको अवस्थामा बम फेला पर्दा आफूहरुलाई जोखिम भएको स्थानीयहरुले बताएका छन् ।।