ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्।
आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो।
दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे मौखिक जानकारी गराएका थिए।
प्रहरीका अनुसार ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा फेला परेको छ। तर ट्याक्टर चालक समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिएका छन्।
बेपत्ता दुवै जनाको खोजीका लागि प्रहaरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। खोलाको बहाव तथा घटनास्थलको अवस्थालाई ध्यानमा राख्दै खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
ट्याक्टर अरुण भेनियर कम्पनीको रहेको र घटनाबारे कम्पनीका सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८ सय मिटर उत्तरतर्फ पर्छ। बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया