–राति ८–९ बजे यात्रुको चाप बढी
–आम्दानी ३,१३४, सञ्चालन खर्च ४,८१४
–७ बाट २८ बस पु¥याउन सिफारिस
–८ नगरपालिकाको सहभागितामा सेवा विस्तार प्रस्ताव
काठमाडौँ।
नयाँ वर्षबाट राजधानीमा साझा यातायातले रात्रिकालिन सेवा सुरु गरेपछि हालसम्म ६७ हजार यात्रुले सेवा लिएका छन् । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा साझा बस सञ्चालन गरेको थियो । चार महिनाको अवधिमा उत्कृष्ट सेवा दिन पाएकामा कामपाले खुसी व्यक्त गरेको छ ।
तीनमहिने रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिस कार्यदलले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझ्दै कामपाका कार्यवाहक मेयर सुनिता डंगोलले थप प्रभावकारी सेवा दिन उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । आइतवार प्रतिवेदन बुझ्दै उहाँले भन्नुभयो– ‘अन्तर नगर यातायात सञ्जाल विकास गर्न स्थानीय तहहरूको सहभागिता सुनिश्चित गर्नेछौँ ।’
कामपाका ट्राफिकविज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यो अध्ययन गरेको हो । अध्ययन समितिमा कामपाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इञ्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इञ्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्य थिए ।
प्रतिवेदनमा परीक्षणकालीन सेवाको ३ महिना अवधिको समीक्षा गरेको थियो । यस अवधिमा ६६ हजार ९ सय ५२ जना यात्रीले सेवा लिएका छन् । एउटा बसले दैनिक औसत १४२ जना यात्री बोक्ने गरेको उल्लेख छ । यसबाट दैनिक ३ हजार १ सय ३४ रुपैयाँ आम्दानी हुने गरेको देखिएको छ । एउटा बसको दैनिक सञ्चालन लागत ४ हजार ८ सय १४ रुपैयाँ रहेको छ । दैनिक प्रतिबस १ हजार ६ सय ९० रुपैयाँ (करिब ३५ प्रतिशत) घाटा भइरहेको प्रतिवेदनले औँल्याएको छ ।
अध्ययनले राती ८ देखि ९ बजेसम्मको समयमा सबैभन्दा बढी यात्रुको चाप रहने गरेको देखाएको छ । यसमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक र दैनिक ज्यालादारी गर्ने मजदुरहरूको संख्या धेरै छ । रुटअनुसारको थानकोट एयरपोर्ट रुटमा सबैभन्दा बढी ५१ र दोस्रोमा बूढानीलकण्ठ लगनखेल रुटमा ४८ प्रतिशत यात्रु भार देखिन्छ । ती यात्रीमध्ये ४७ प्रतिशत यात्रीले छोटो दूरी अर्थात् ५ किलोमिटरभित्रको दूरीमा यात्रा गर्नुभएको थियो । ३२ प्रतिशत यात्री मध्यम दूरीका र २१ प्रतिशत यात्री लामो दूरीका थिए । साझा बसको छोटो दूरीका भाडा २० रुपैयाँ, मध्यम दूरीको भाडा २५ रुपैयाँ र लामो दूरीको भाडा ३० रुपैयाँ हो ।
हाल ७ वटा बसबाट नागढुङ्गा एयरपोर्ट र लगनखेल बूढानीलकण्ठ रुटमा सेवा प्रदान गरिएको छ । यसलाई बढाएर २८ वटा बस पु¥याउन समितिले सिफारिस गरेको छ । प्रस्तावित नयाँ रुटहरूमा गोदावरी–बूढानीलकण्ठ, चक्रपथ (रिङरोड) मा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायु सेवासम्म रहेका छन् । यी रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र र नाकाहरूलाई जोड्नेछन् ।
रात्रिकालीन सेवालाई आर्थिक रूपमा दिगो बनाउन कार्यदलले तीनवटा मुख्य विधि प्रस्ताव गरेको छ । तीमध्ये रात्रिकालीन समयमा कर्मचारीको अतिरिक्त भत्ता र प्राविधिक खर्च बढी हुने भएकाले हालको भाडामा १२ रुपैयाँ थप गरी ‘रात्रिकालीन प्रिमियम रेट’ कायम गर्न सकिने समितिले दिएको सुझावको पहिलो विकल्प हो ।
सेवामा हुने कुल घाटाको ५० प्रतिशत रकम ८ वटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम नगरपालिकाको आकार, जनघनत्व र सञ्चालन दूरीका आधारमा बाँडफाँट गर्ने मोडल दोस्रो प्रस्ताव हो । यात्रीहरूमा वास्तविक अवस्थिति र समयतालिका हेर्न सकिने प्रविधिलगायत यात्रीहरूमा विश्वास र भरोसा बढाउने कार्यक्रम गरेर लागत जुटाउने समितिले दिएको तेस्रो विकल्प हो ।
प्रतिवेदनले रात्रिकालीन सेवामा महिला, ज्येष्ठ नागरिक र पर्यटकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने भनेको छ । यसका लागि बसभित्र सीसीटीभी क्यामरा, जीपीएस ट्रयाकिङ र ‘डेडिकेटेड’ बस स्टपहरूको व्यवस्था गर्न सुझाइएको छ । काठमाडौँ, ललितपुर, बूढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर ठिमी, गोदावरी र कीर्तिपुर नगरपालिकाको सक्रिय सहभागितामा यो सेवा विस्तार गरिएमा उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान हुने र निजी सवारीमाथिको निर्भरता घट्ने प्रतिवेदनले औँल्याएको छ ।
संघीय राजधानीको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ मार्फत यसको नियमन र सुशासन कायम हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । सुरुवाती तीन महिना (वैशाख–असार) मा ७ वटा विद्युतीय बसमार्फत २ वटा रुटमा सेवा सञ्चालन गरिएको थियो । यो सेवालाई थप प्रभावकारी बनाउन उपत्यकाका ८ वटा नगरपालिकाहरूलाई समेट्ने गरी सेवा विस्तार गर्न सिफारिस गरेको छ ।












प्रतिक्रिया