काठमाडौँ ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति काठमाडौँ उपत्यकावासीले दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन् ।

आइतबार बिहान बसन्तपुरबाट सुरु भएको सामूहिक ऐक्यबद्धता र्यालीमा सहभागीहरूले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजीलाई तीव्र बनाउन सरकारसँग माग गरेका छन् । उनीहरूले खोज तथा उद्धारमा अधिकतम स्रोत–साधन, जनशक्ति र आधुनिक प्रविधिको प्रयोग गर्न आग्रह गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा फेला परेका शवको सम्मानजनक व्यवस्थापन तथा वैज्ञानिक अभिलेखीकरण गर्न, पहिचानका लागि डीएनएलगायत जैविक नमुना सुरक्षित राख्न र पहिचानपछि परिवारलाई शव हस्तान्तरण प्रक्रिया सहज बनाउन पनि नागरिक समूहले सरकारको ध्यानाकर्षण गराएको छ ।
र्यालीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय उद्धारकर्मी, चालक, प्राविधिक तथा स्वयंसेवकले उद्धारमा पुर्याएको योगदानको प्रशंसा गरिएको थियो ।

साथै, प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, विद्युत् तथा सञ्चार पूर्वाधारको शीघ्र पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न माग गरिएको छ ।‘रसुवा विपद्ग्रस्त साथीहरू, उपत्यका सधैं साथमा छ’ भन्ने सन्देशसहित सहभागीहरूले शोकलाई शक्ति र सहयोगमा रूपान्तरण गर्दै सुरक्षित नेपाल निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
















प्रतिक्रिया