कृष्णभिरमा सडक भासिएपछि ग्यास अभाव, केही दिनमै समस्या समाधान हुने


काठमाडौं ।

 पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास अभाव हटाउन उद्योगीहरू सक्रिय भएका छन्।

नेपाल आयल निगमले उपत्यकाबाहिरका उद्योगबाट ग्यास ‘बोटलिङ’ गरी काठमाडौं ल्याउन अनुमति दिएपछि उद्योगीहरूले सोहीअनुसार ढुवानीको व्यवस्था मिलाएका छन्। बाहिरका उद्योगमा खाली सिलिण्डर पठाएर ग्यास भरी ट्रकमार्फत उपत्यका ल्याउने व्यवस्था गरिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार सिलिण्डर अभावका कारण मागअनुसार ग्यास उपलब्ध गराउन केही कठिनाइ भए पनि उद्योगीहरूले संगठित रूपमा ढुवानीको व्यवस्था गरिरहेका छन्।

सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिण्डर खपत हुने गरेकोमा अहिले माग बढेर एक लाख सिलिण्डरसम्म पुगेको छ। राजधानी नजिकका उद्योगहरूले दुई सिफ्टमा ग्यास भर्ने काम गरिरहेका छन्।

गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल भित्रिएको र यो हालसम्मकै उच्च आयात भएको व्यवसायीहरूले बताएका छन्। ग्यासको आयात नियमित रहेकाले केही दिनमै उपत्यकामा देखिएको अभाव समाधान हुने उनीहरूको विश्वास छ।