बेपत्ता कोरियाली नागरिकको खोजीबारे छलफल गर्न दक्षिण कोरियाली विदेशमन्त्री नेपाल आउँदै


काठमाडौं ।

दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज शनिबार नेपाल आउँदै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोपछि बेपत्ता भएका नौ जना दक्षिण कोरियाली नागरिकको खोजी तथा उद्धारबारे नेपाल सरकारसँग छलफल गर्न उहाँ तीनदिने भ्रमणमा नेपाल आउन लाग्नुभएको हो।

भ्रमणका क्रममा विदेशमन्त्री चोले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुहुनेछ। भेटमा बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउने उपाय, बाढीपहिरो प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि सहयोग र नेपाल–दक्षिण कोरिया सम्बन्धबारे छलफल हुने बताइएको छ।

चोले नेपालमा परिचालित कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) का सदस्य तथा उद्धारमा संलग्न कम्पनीका प्रतिनिधिसँग पनि भेट गर्नुहुनेछ। भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनामा कार्यरत डुसान इनर्जीबिलिटीका ६ र कोरिया साउथ–इस्ट पावरका ३ गरी नौ जना कोरियाली नागरिक बेपत्ता छन्। उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, खोजी कुकुर र थर्मल इमेजिङ प्रविधिको प्रयोग गरी खोजी जारी राखेको छ।