सशस्त्रले भोटेकोशी बाढीमा ज्यान गुमाउने कर्मचारीका परिवारलाई २५ लाख उपलब्ध गराउने, उद्धार कोषमा साढे १५ करोड


काठमाडौँ।

सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गरिने भएको छ ।

रसुवा बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै आज बिहीबार सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरूले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्ने निर्णय भएको छ ।

बैठकले बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा भने रकम कट्टा नगर्ने निर्णय गरेको छ ।

यसैगरी, मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट तत्काल १५ लाख र सशस्त्र प्रहरी कर्मचारीहरूको मृत्यु भएमा निजको हकवाला-आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि, २०७९ बमोजिम ५ लाख तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालन सम्बन्धी मापदण्ड, २०८१ बमोजिम ५ लाख समेत गरी कूल २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकले मृतक सशस्त्र प्रहरी कर्मचारीहरूले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरूलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य सोही बाढीका कारण मृत्यु भएमा राहत स्वरूप प्रतिव्यक्ति १ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने, सोही बाढीको कारणबाट मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीहरूको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने, मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारका १÷१ जना सदस्यहरूलाई सीपमूलक तालिम प्रदान गर्ने, सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई राहत स्वरूप जनही ५० हजार रुपैयाँका दरले तत्काल उपलब्ध गराउने निर्णय गरिएको छ ।

बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख¸ घरबार विहीन भएमा १ लाख र आंशिक रूपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल उपलब्ध गराउने निर्णय पनि भएको छ ।

बैठकले रसुवा जिल्लाको भोटेकोशी नदीको बाढीमा परेर दिवंगत भएका सशस्त्र प्रहरी कर्मचारीहरू, अन्य सुरक्षाकर्मीहरू लगायत सम्पूर्ण मृतकहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्ने र सो घटनामा परी घाइते एका सम्पूर्ण व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि गरेको छ ।

बैठकले खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ सघन रूपमा निरन्तरता दिने र सो कार्यमा सहयोग पु¥याउने सम्पूर्णमा धन्यवाद दिने निर्णय गरेको छ ।