लाङटाङ खोला हाइड्रोको सुरुङबाट दुई शव निकालिए


काठमाडौं ।

रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ। सुरुङभित्र खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव बाहिर निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिएका छन्। बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित ७–८ जनाको प्राविधिक टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र प्रवेश गरी करिब १५० मिटर माथिसम्म पुगेको थियो। सोही बाटो प्रयोग गरेर सेनाको टोलीले दुई शव बाहिर निकालेको हो।

यसअघि सरकारी उद्धार टोलीले सुरुङको मुख्य बाटोबाट भित्र प्रवेश गर्ने प्रयास गरेको थियो। तर सुरुङभित्र ढुंगा, माटो र लेदो भरिएका कारण टोली करिब १०० मिटरभित्र पुगेपछि थप अघि बढ्न सकेको थिएन। त्यसपछि आयोजनाका प्राविधिकसहितको टोलीलाई समेत खोजी तथा उद्धारमा परिचालन गरिएको थियो।

अहिले सुरुङभित्र थप बेपत्ताको खोजी कार्य जारी रहेको महाप्रबन्धक भट्टराईले बताएका छन्। २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।