रसुवा बाढी : ३४ देशका ५९० विदेशी अझै बेपत्ता


काठमाडौँ ।

रसुवा बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपालसहित विभिन्न देशका विशेषज्ञ टोली परिचालन गरिएको छ।

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि भारत, चीन, दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञ टोली नेपाली सेनाको समन्वयमा फिल्डमा खटिएका छन्। भारत र सिंगापुरका फोरेन्सिक टोलीले शव पहिचान तथा डीएनए परीक्षणमा समेत सहयोग गरिरहेका छन्।

मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट ३०० भन्दा बढी विदेशी नागरिकसहित ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ। हालसम्म एक हजार ११४ शव फेला परेका छन् भने करिब तीन हजार ९०० जना अझै बेपत्ता छन्।

यसैबीच, सीमा क्षेत्रमा अड्किएका मानसरोवर–कैलाश यात्रुमध्ये करिब दुई हजार ५०० जना नेपाल फर्किसकेका छन्। केरुङमा रहेका नेपाली नागरिक र कन्टेनरलाई सुरक्षित फर्काउन पनि चिनियाँ पक्षसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले अन्तर्राष्ट्रिय समुदायसँग बेलिब्रिज, फ्रिजर, डीएनए किट तथा उच्च क्षमताका ड्रोन उपलब्ध गराउन आग्रह गरेको छ।