पाल्पा ।
रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र २३ वर्षीय प्रवीन पुनको खोलाले बगाएर मृत्यु भएको हो।
उनीहरू रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीतर्फ जाँदै गरेको लु २९ प ९८७६ नम्बरको मोटरसाइकलमा सवार थिए। सोमबार साँझ करिब ६ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजीका लागि आफन्तले बुधबार दिउँसो अस्थायी प्रहरी पोष्ट बेलबासमा जानकारी गराएका थिए।
सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खोजी टोली परिचालन गरिएको थियो। खोजीका क्रममा रैनादेवी छहरा–७ डुम्रेवासस्थित सडकबाट करिब पाँच फिट तल ठाडोखोलामा उनीहरू सवार मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।
त्यसपछि थप खोजी गर्दा दुवै जनाको शव रूपन्देहीको सैनामैना नगरपालिका–१०, मोवाघारीस्थित कञ्चन खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
प्रहरीले घटनास्थलमा आवश्यक मुचुल्का तयार गरी शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया