काठमाडौं
काठमाडौंको न्यौखास्थित श्रीकृष्ण मन्दिर आधारभूत विद्यालयका २०१ जना विद्यार्थीको आँखाको परीक्षण गरिएको छ। भिजन फर दि वर्ल्ड जर्मनी र हिमालय फ्रेन्डस् जर्मनीको सहकार्यमा बुधबार विद्यालयमा आयोजना गरिएको आँखा स्वास्थ्य शिविरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीको आँखा परीक्षण गरिएको हो।
आँखा परीक्षणका क्रममा दृष्टिदोष देखिएका १० जना विद्यार्थीलाई आवश्यक परामर्शसहित निःशुल्क चश्मा प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरमा विद्यार्थीको आँखाको परीक्षणसँगै आवश्यक स्वास्थ्य व्यवस्थापनबारे समेत जानकारी दिइएको थियो।

यसैगरी विद्यालयका १५ जना शिक्षकको समेत आँखा परीक्षण गरिएको थियो। परीक्षणपछि आवश्यकताअनुसार उनीहरूलाई उपचार तथा व्यवस्थापनका लागि सुझाव दिइएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको समन्वय भिजन फर दि वर्ल्ड जर्मनीका संयोजक राम केसीले गरेका थिए। केसीका अनुसार विद्यालय तहमा नियमित आँखा परीक्षणमार्फत बालबालिकामा देखिने दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको समन्वय भिजन फर दि वर्ल्ड जर्मनीका संयोजक राम केसीले गरेका थिए। केसीका अनुसार विद्यालय तहमा नियमित आँखा परीक्षणमार्फत बालबालिकामा देखिने दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

भिजन फर दि वर्ल्ड जर्मनीले लामो समयदेखि नेपालमा अन्धोपन न्यूनीकरण तथा आँखा स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले समुदायस्तरमा आँखा शिविर सञ्चालन गरी आवश्यकताअनुसार निःशुल्क चश्मा वितरण गर्नुका साथै विद्यालयमा आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी सरकारी विद्यालयका विद्यार्थीको नियमित आँखा परीक्षण, दृष्टिदोष भएका विद्यार्थीको पहिचान तथा उनीहरूलाई निःशुल्क चश्मा उपलब्ध गराउने कार्यक्रम संस्थाको प्राथमिकतामा रहेको जनाइएको छ। संस्थाले समुदायमा अन्धोपन रोकथामका लागि सरकारी स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई आँखा स्वास्थ्यसम्बन्धी तालिम तथा अभिमुखीकरणसमेत दिँदै आएको छ।

विद्यालय तहमा गरिने नियमित आँखा परीक्षणले बालबालिकामा रहेको दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गर्न सहयोग पुग्ने र त्यसले उनीहरूको पढाइ तथा दैनिक जीवनमा समेत सकारात्मक प्रभाव पार्ने आयोजकको भनाइ छ।












प्रतिक्रिया