काठमाडौँ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढी प्रभावित बालबालिकालाई तत्काल विद्यालयमा बोलाउने योजना रोकेको छ । पहिलो चरणमा प्रभावित बालबालिकालाई पीडा भुलाउँदै पुनःसामान्यीकरण गर्ने योजना अघि सारेको छ । उनीहरूलाई खेल्ने, खेलाउने र पीडा भुलाएर मात्र विद्यालयमा बोलाउने योजना बनाएको छ ।
सरकारले विद्यालयमा पढ्न जाने वातावरण बनाउनुअघि सम्बन्धित स्थानीय तह, दातृ निकाय र स्वास्थ्य संस्थाको सहयोगमा मनोपरामर्श चिकित्सकद्वारा मनोपरामर्श दिने व्यवस्था गरेको छ । ‘त्यसका लागि शिक्षा विभाग र स्थानीय तहलाई जिम्मेवारी दिएका छौ’ –मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामीले भन्नुभयो । उहाँका अनुसार आज बुधवारबाट रसुवा, धादिङ र नुवाकोटमा तीनवटा टोली खटाइने छ ।
टोलीले दिएको प्रतिवेदनको आधारमा योजना तयार गरिनेछ । शिक्षा विभागका सूचना अधिकारी एवं निर्देशक निमप्रकाश राठौरले स्थानीय निकायको समन्वयमा पहिचान भएका विद्यालय र बालबालिकालाई मनोपराशर्म दिन सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अभिभावकविहीन बालबालिकालाई सम्बन्धित विद्यालय वा वरपर पायक पर्ने स्थानमा भेला गराएर मनोरञ्जनात्मक कार्यक्रम सिकाउने, मनोचिकित्सकबाट परामर्श दिने त्यसपछि मात्र पठनपाठन सुरु गर्ने योजना गरेका छौँ ।’
तर मन्त्रालयले भदौमा सामान्यीकरण गरेर असोजबाट कक्षा सञ्चालन गर्नेगरी तयारी गर्न विभागलाई पत्र पठाएको छ । विषम परिस्थितिमा घटना सामान्य नभईकन पढाउनसक्ने अवस्था छैन । भयावह दृश्यको अघि कसरी पढाउने ? न भवन छ । न त खेलमैदान नै । हचुवाको भरमा असोजबाट कक्षा सञ्चालन गर्नु भन्ने मन्त्रालयको निर्णय गलत देखिन्छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा २२३ जना शिक्षक र विद्यार्थीको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाढीको कारण २२ विद्यालय क्षतिग्रस्त भएका छन् । तीमध्ये ६ विद्यालय बाढीले बगाएपछि खण्डहरमा परिणत भएका छन् । सरकारी तथ्याङ्कअनुसार करिब १७ हजार बालबालिका प्रभावित भएका छन् भने विद्यालय उमेर समूहका साढे ७ लाख विद्यार्थी पढ्नबाट वञ्चित छन् ।
शिक्षा विभागले तयार पारेको तथ्याङ्कअनुसार रसुवामा २१६ विद्यार्थी र ७ शिक्षक गरी २०७, नुवाकोटमा १३ विद्यार्थी र धादिङमा १ विद्यार्थी र ३ शिक्षक गरी २२३ जनाको मृत्यु भएको छ । बाढीमा परी नुवाकोटमा १ र रसुवामा १७ जना बेपत्ता भएका छन् ।
राजनीतिक दलका भ्रातृ संगठन, वडा र दातृ निकायले क्षतिग्रस्त विद्यालयमा सरसफाइ सुरु गरी मनोपरामर्श दिने व्यवस्था मिलाएका छन् । सरकारले तत्काल पढाइ सुरु गर्ने वातावरण तयार गर्न स्थानीय तहलाई आग्रह गरिसकेको छ । विद्यालय भवन नभएका विद्यालयलाई अन्यत्र स्थानान्तरण गरेर अस्थायी टहरा तयार गरी पठनपाठन सुरु गर्ने तयारी छ ।












प्रतिक्रिया