सुर्खेत ।
सुर्खेतकी १६ वर्षीया बालिका इनिषा विककाे मृत्यु प्रकरणमा जोडिएका तीन जना बालकलाई सर्वोच्च अदालतले अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । जबरजस्ती करणी गरी ज्यान मारेको अभियोग लागेका तीन जना नाबालकहरूलाई बालसुधार गृह पठाउने सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतको आदेश बदर गर्दै सर्वोच्चले उनीहरूलाई अभिभावकको जिम्मा लगाउन भनेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको अघिल्लो आदेश बदर गरेको हो ।
सर्वोच्चको यो आदेशसँगै परिवर्तित नाम वीरेन्द्रनगर (ध), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई अभिभावकको जिम्मामा छाडेर मुद्दाको बाँकी कारबाही अघि बढाउन बाटो खुलेको छ । यसअघि सुर्खेत जिल्ला अदालतले १७ चैत २०८२ मा उनीहरूलाई थुनछेक आदेशमार्फत बालसुधार गृह पठाउने निर्णय गरेको थियो । सोही आदेशलाई उच्च अदालत सुर्खेतले २४ वैशाख २०८३ मा सदर गरेपछि बालकहरूका तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको थियो ।
सर्वोच्च अदालतले उनीहरूलाई थुनामुक्त गर्नुका पछाडि विभिन्न प्रमाण र कानुनी आधारहरू औंल्याएको छ । अभियुक्त बालकहरूले प्रहरी र अदालतसमक्ष बयान दिँदा आरोप पूर्ण रूपमा अस्वीकार गरेको तथा मुद्दाका मुख्य आरोपी बालक वीरेन्द्रनगर (प) ले समेत उनीहरूलाई घटनामा संलग्न रहेको भनी पोल नगरेको आदेशमा उल्लेख छ ।
त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको प्राविधिक विश्लेषण, फोन संवाद समय, ट्राफिक कार्यालय तथा कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन विभाग र प्रदेश आयुर्वेद अस्पतालको सीसीटीभी फुटेज अध्ययन गर्दा यी बालकहरू घटना घटेर पीडित बेहोस भइसकेपछि उद्धार र सहयोगका लागि मात्र घटनास्थल पुगेको देखिएको सर्वोच्चले जनाएको छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुर्पक्षका लागि बालसुधार गृहमा नै राख्नुपर्ने अवस्था विद्यमान नरहेको निष्कर्ष अदालतले निकालेको छ ।
अदालतले बालबालिका सम्बन्धी ऐन अनुसार बालकहरूलाई उनीहरूका बाबु, आमा वा परिवारका जिम्मेवार व्यक्तिको जिम्मा लगाई मुद्दाको कारबाही अघि बढाउन भनेको छ ।
तर, मुद्दा किनारा नलागुञ्जेल अदालतले खोजेका बखत अनिवार्य रूपमा उपस्थित गराउनुपर्ने र अदालतको पूर्वअनुमति नलिई देश बाहिर जान नपाउने शर्तसमेत तोकिएको छ ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ मा परिवारका साथ बस्दै आएकी १६ वर्षीया इनिषा २३ फागुन २०८२ मा बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन् ।
बिहान ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षीय नाबालक वीरेन्द्रनगर (प) र त्यसपछि अनुसन्धानकाे क्रममा थप तीन जना बालकलाइ नियन्त्रणमा लिएको थियो ।












प्रतिक्रिया