कांग्रेसको आन्तरिक समस्या समाधानबारे शेखरको छलफल


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान गर्दै पार्टीलाई एकढिक्का बनाउने विषयमा विभिन्न तहका नेताहरूसँग छलफल गर्नुभएको छ।

बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा कोइरालाले आयोजना गर्नुभएको छलफलमा कांग्रेसका नेता, सांसद तथा राष्ट्रिय सभा सदस्यहरूको सहभागिता रहेको थियो। छलफलमा धनराज गुरुङ, बलबहादुर केसी, बद्री पाण्डे, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, मिनेन्द्र रिजाल, जीवन परियार, दिलेन्द्र बडु, डा. गोविन्दराज पोखरेललगायत नेताहरू सहभागी थिए।

त्यसैगरी संघीय सांसदहरू गीता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला, रिना उप्रेती तथा राष्ट्रिय सभा सदस्यहरू बासुदेव जंगली, गीता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्णलगायतको पनि सहभागिता रहेको थियो।

यसअघि कोइरालाले भदौ १४ गते डा. शशांक कोइराला र भदौ १५ गते पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रका समस्या समाधानका विषयमा छलफल गर्नुभएको थियो।