काठमाडौं ।
नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढी पछिल्लो बाढीका कारण गम्भीर संकटमा परेको छ। बाढीले मितेरी पुलसहित सडक, पुल, भन्सार कार्यालय र टिमुरे सुक्खा बन्दरगाहका संरचनामा ठूलो क्षति पुर्याएपछि नाकाको भविष्य नै अनिश्चित बनेको छ।गत आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी नाकाबाट ४५ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात र ८९ करोड ४६ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्ष भने यही नाकाबाट ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात र २ अर्ब ४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।यसअघि २०८२ असारमा आएको बाढीका कारण नाका करिब ६ महिना बन्द भएको थियो।
त्यसपछि बेलिब्रिज सञ्चालनमा आएर व्यापार पुनः सुरु भएको थियो। तर, पछिल्लो बाढीले सडकका दर्जनौँ पुल तथा करिब ४० किलोमिटर सडकमा क्षति पुर्याएपछि पुनः सञ्चालन चुनौतीपूर्ण बनेको छ।टिमुरे सुक्खा बन्दरगाहमा करिब ३ अर्ब रुपैयाँ लगानी भएकोमा २ अर्ब रुपैयाँ खर्च भइसकेको थियो। बाढीले अधिकांश संरचना बगाएपछि राज्य र निजी क्षेत्रको अर्बौं रुपैयाँको लगानी जोखिममा परेको छ।भन्सार विभागका अनुसार रसुवागढी भन्सारमा कार्यरत १५ कर्मचारी अझै सम्पर्कविहीन छन्।
अहिले कर्मचारीको खोज तथा उद्धारलाई प्राथमिकता दिइएको छ। सरकारले गर्ने निर्णयका आधारमा रसुवागढी नाकाको आगामी स्वरूप र सञ्चालनबारे टुंगो लाग्ने विभागले जनाएको छ।ऐतिहासिक रूपमा नेपाल–तिब्बत व्यापारको प्रमुख मार्ग रहेको रसुवागढी २०७५ सालमा अन्तर्राष्ट्रिय नाकाका रूपमा मान्यता पाएपछि नेपाल–चीन व्यापारको मुख्य आधार बनेको थियो। अब भने बाढीपछि नाका पुनर्निर्माण र सञ्चालनका लागि ठूलो लगानी तथा दीर्घकालीन रणनीतिक निर्णय आवश्यक देखिएको छ।












प्रतिक्रिया