काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले हालसम्म २ सय ५० बढीको उद्धार गरेको छ । कामपाले दैनिक उद्धारलाई तीव्रता दिएको छ । बाढीपहिरोबाट पीडितहरूलाई उद्धार गरी राजधानीका विभिन्न स्थानमा आश्रम दिएको छ । उद्धार गरिएका मध्ये ४० बिरामी छन् । उनीहरूलाई नुवाकोट, धादिङ र रसुवाबाट उद्धार गरी ट्रमा, वीर र शिक्षण अस्पतालमा लगिएको छ । हिजो बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो जानकारी दिएको हो ।



कामपा महानगर विपद् व्यवस्थापन समितिले बाढीपहिरो गएको पहिलो दिन भदौ १० गतेका दिन ५ वटा एम्बुलेन्स नुवाकोट पठाएको थियो । २ वटा एम्बुलेन्स त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ राखेको छ । कामपा विपद् व्यवस्थापन विभागप्रमुख अनिरुद्र नेपालले ती एम्बुलेन्सबाट हालसम्म १४ महिला, १० पुरुष र ५ जना बालबालिकासहित २९ बिरामीलाई अस्पताल पु¥याएको जानकारी दिनुभयो । आवश्यकताको आधारमा थप एम्बुलेन्स र अन्य सवारीसाधन परिचालन हुनेछ ।
कामपा प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बाढीपहिरोलगत्तै बसेको बैठकले आपत्कालीन सेवा दिने निर्णय गरेको थियो । सोही आधारमा कामपा विपद् व्यवस्थापन समितिको बैठकले आधा दर्जन बढी निर्णय गरेको थियो । विभागले दिएको जानकारीअनुसार उद्धार गर्न कामपाका १९ जना स्काउटरलाई मानवीय सहयोगका लागि विपद् प्रभावित क्षेत्रमा परिचालन गरेको छ । कामपा प्रमुख डंगोलले शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर वीरलगायतका अस्पतालमा पुगेर बिरामी र आफन्त बेपत्ता भएका परिवारका सदस्यको अवस्था र बिरामीका आफन्तको आवश्यकताका विषयमा जानकारी लिनुभएको थियो ।
कामपाले वडाध्यक्ष, कार्यपालिका सदस्य र जनप्रतिनिधिहरूबाट आफ्नो वडाअन्तर्गतका अस्पतालहरूमा उपचारका लागि सहजीकरण जारी राखेको छ । घाइतेहरूको उपचार भइरहेको अस्पतालहरूमा बिरामीको उपचार सहजीकरण र अन्य आवश्यक मानवीय सहयोगका लागि १० महानगर प्रहरी खटाइएको उल्लेख छ । यसअघि प्रभावित क्षेत्रको वास्तविक अवस्थाको पहिचान गर्न भदौ १२ गते बिहीवार प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको नेतृत्वमा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाल, स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी र विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रवीण प्याकुरेलको टोलीले स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारीहरूसँग छलफल गरेको थियो ।
सोही छलफलका आधारमा कामपाले आवश्यक जनशक्ति र अत्यावश्यक सामग्री तीन जिल्ला पु¥याएको थियो । विपद् प्रतिकार्यमा सम्बन्धित निकाय र व्यक्तिहरूसँग समन्वय र सहजीकरण गर्न समितिका सदस्यसचिव एवम् विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई जिम्मेवारी प्रदान गरेको जनाएको छ ।
कामपाले प्रभावित क्षेत्रबाट उद्धार गरेर काठमाडौँको नागार्जुन नगरपालिकास्थित पहेँलो गुम्बामा बसेका करिब २ सय परिवारका लागि १० ग्याँस सिलिण्डर, १ सय ६० थान म्याट, सय थान ब्ल्याङकेट र पानीलगायतका आवश्यक सामग्री उपलब्ध गराएको छ ।
भदौ १३ गते शनिवारदेखि विदुर नगरपालिकाबाट काठमाडौँसम्म महानगरपालिकासम्म दुईवटा सवारीसाधनबाट निःशुल्क सवारीसाधनको व्यवस्था गरेको छ ।
दुई सवारीसाधन परिचालन गरी निःशुल्क यातायात सेवा उपलब्ध गराइएको विभागीय प्रमुख नेपालले जानकारी दिनुभयो ।बाढी प्रभावित जिल्ला नुवाकोटको विदुर नगरपालिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको अनुरोधमा महानगरपालिकाले समन्वय गरी ४ वटा शववाहन नुवाकोट पठाइएको छ । प्रत्येक शववाहनमा सवारी चालकसहित कम्तिमा १ जना नगर प्रहरी रहने व्यवस्था मिलाइएको छ । सो शववाहनले हालसम्म ६ वटा सग्लो र २२ वटा शरीर छुट्टिएको शव सङ्कलन गरी शिक्षण अस्पताल पु¥याएको थियो ।
कामपाले गुनासो सुन्न राष्ट्रिय सभागृहमा हेल्पडेक्स स्थापना गरेको छ । महानगर विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले आपत्मा परेका यात्रुहरूलाई ल्याउन, निःशुल्क यातायात, घाइते र बिरामी ल्याउन एम्बुलेन्स, शव ल्याउन शववाहन परिचालन भइरहेको जानकारी दिनुभयो ।
यसैबीच रसुवा भोटेकोशी बाढीबाट घाइते भएका दम्पतीलाई उपचारपछि मानव सेवा आश्रम लगिएको छ । सिमा भन्सार क्षेत्रमा मजदुरी गर्ने ४३ वर्षीया श्रीमती र ५० वर्षीय श्रीमान्लाई कामपाले आश्रम लगेको हो । आश्रममा लगिएका दम्पतीको स्थायी बसोबास बाँके कोहलपुर हो । डिस्चार्जपछि उहाँहरूसँग घर फर्किने पैसा नभएको र श्रीमतीलाई पेटको समस्या सुधार गर्न केही दिन आराम आवश्यक भएकाले एम्बुलेन्समा राखेर मानव सेवा आश्रम लगिएको हो ।












प्रतिक्रिया