काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा तीन तहका सरकार, सुरक्षाकर्मी र विभिन्न निकायको समन्वयमा खोज, उद्धार तथा राहत कार्य तीव्र रूपमा भइरहेको बताउनुभएको छ।
सरकारका अनुसार शनिबार साँझसम्म हवाई तथा स्थलमार्गबाट ७ हजार ५१४ जनाको उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ हेलिकप्टरले २३६ उडान भरिसकेका छन् भने सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन भएका छन्।
रसुवा र नुवाकोटमा प्रभावित नागरिकका लागि अस्थायी शिविर सञ्चालन गरिएको छ। बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको सरकारले जनाएको छ।
यसैबीच, रसुवा, धादिङ, नुवाकोटलगायत आठ जिल्लाका विभिन्न स्थानबाट हालसम्म ६७५ शव फेला परेको सरकारले जनाएको छ। पहिचान भएका शव परिवारलाई जिम्मा लगाउने र पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गरिने बताइएको छ।
सरकारले उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग पारदर्शी रूपमा परिचालन भइरहेको जनाएको छ। प्रभावित क्षेत्रमा सडक, सञ्चार र स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने कामसमेत जारी रहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।











प्रतिक्रिया