चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री


काठमाडौं ।

चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्रीसहित चार जना सुरुङ उद्धार विशेषज्ञ पठाएको छ।

आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वाई–२० विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

चिनियाँ दूतावासका अनुसार १३ हजार २०० थान राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट र प्राथमिक उपचार किट रहेका छन्। उद्धार विशेषज्ञहरू आवश्यक उपकरणसहित नेपाल आएका छन्।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले सामग्री र विशेषज्ञ टोली नेपाल पठाएको हो।