काठमाडौं ।
भारतले बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि नेपाललाई थप ११ टन राहत सामग्री तथा प्राविधिक टोली पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार भारतीय वायुसेनाको सी–१३० विमानमार्फत राहत सामग्रीसहित सुरुङ प्राविधिक र फरेन्सिक विशेषज्ञको टोली नेपाल आइपुगेको छ। टोलीसँग खोजी तथा उद्धार उपकरण र डीएनए विश्लेषणका लागि आवश्यक सामग्रीसमेत रहेको भारतीय दूतावासले जनाएको छ।
भारतले ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइका सामग्री पठाएको छ। यो नेपालमा पठाइएको भारतको चौथो खेप सहायता हो।
बाढीपहिरोबाट सडक तथा पुलमा क्षति पुगेपछि यातायात सुचारु गर्न भारतले २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरणसहित १६ वटा ट्रकसमेत पठाएको छ। थप सात वटा बेली ब्रिजका उपकरण र प्राविधिक टोली पनि नेपाल आउने जनाइएको छ।
भारतका अनुसार हालसम्म हवाईमार्गबाट ६८.५ टन राहत सामग्री काठमाडौं ल्याइएको छ। यसअघि औषधि, पोर्टेबल जेनेरेटर, तयारी खाना, पानी शुद्धीकरण गर्ने ट्याब्लेटलगायत सामग्री नेपाल पठाइएको थियो।











प्रतिक्रिया