पुरिएको त्रिशूली–३ ‘ए’ सुरुङमा ड्रिलिङ सफल, क्यामेरा र अक्सिजन पठाउने तयारी


काठमाडौं ।

बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ।

बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो। सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ।

क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउन प्रयास भएको बताइएको छ। क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्‍याउन यो प्रयास महत्वपूर्ण मानिएको छ।

उद्धार टोलीले प्वालमार्फत पनि अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।