त्रिशूली–३ ‘बी’ सुरुङमा फसेकाको उद्धारमा चिनियाँ टोली परिचालन


काठमाडौं ।

बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।प्रधानमन्त्री कार्यालयका अनुसार अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली खटाइएको हो।

टोली चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको छ।चिनियाँ विज्ञ टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्था तथा उद्धारको सम्भाव्यताबारे प्राविधिक अनुगमन गर्नेछ।

प्रारम्भिक अनुगमनबाट उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत घटनास्थलमा बोलाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।