काठमाडौँ ।
लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको भागबाट ठूलो हिउँ चोइटिएर झरेपछि उच्च वेगको हिमबाढी आएको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। नेपाल र चीनका हिम वैज्ञानिकहरूले भूउपग्रह तथा ड्रोनबाट खिचिएका तस्बिर विश्लेषण गरी हिमालको हिस्सा चोइटिएर ल्हेन्दे खोलाबाट भोटेकोशी हुँदै नेपालमा विनाशकारी हिमबाढी प्रवेश गरेको निष्कर्ष निकालेका हुन्।
उक्त निष्कर्ष राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत स्वीकार गरेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हिमबाढी आएको बुधबार करिब दुई करोड घनमिटर बराबरको पानी भोटेकोशी हुँदै चितवनको देवघाटसम्म पुगेको थियो। बाढीको उद्गमस्थलमा बनेको तालमा पानीको मात्रा अझै उच्च रहेकाले ताल फुट्ने जोखिम कायम रहेको बाढीविज्ञ विनोद पराजुलीले बताउनुभएको छ।शुक्रबार राति तालको पानी ड्यामबाट ओभरफ्लो भई भोटेकोशीमा बहाव केही बढे पनि बुधबारको जस्तो ठूलो बाढी नरहेको उहाँले स्पष्ट पार्नुभयो।
यद्यपि त्रिशूली नदीको तटीय क्षेत्रदेखि चितवनको मुग्लिङसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।बाढीले जल तथा मौसम विज्ञान विभागका रसुवा, स्याफ्रुबेँसी, लाङटाङ, बेत्रावती र मलेखुका पाँच जलमापन स्टेसनसमेत बगाएको छ। यसका कारण नदीको जलसतहसम्बन्धी वैज्ञानिक सूचना संकलन प्रभावित भएको छ।
हिम अध्येता डा. रिजनभक्त कायस्थले यसलाई करिब ४५० वर्षपछि नेपालमा आएको ठूलो हिमबाढी भएको बताउनुभएको छ। अर्का अध्येता डा. सुदीप ठकुरीले दक्षिण एसियामै यस्तो ठूलो हिमबाढी दुर्लभ घटना हुनसक्ने बताउनुभएको छ। विशेषज्ञहरूले बढ्दो तापक्रमका कारण हिमपग्लिने, ताल बन्ने र विस्फोट हुने जोखिम बढ्दै गएको औँल्याएका छन्।











प्रतिक्रिया