त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान


चितवन ।

भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली र नारायणी नदीमा ल्याएका शवमध्ये दुई जनाको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शवको तस्बिर खिचेर डिस्प्ले बोर्डमा राखिएपछि आफन्तले तस्बिरका आधारमा दुई शवको सनाखत गरेका हुन् ।

पहिचान हुनेमा बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरी र रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका–४ नेवारपानीका ४३ वर्षीय रामकाजी पौडेल रहेका छन् । कबिरलालको शव उनका दाजु सुग्रिन थारूले तथा रामकाजीको शव उनका दाजु सुवास पौडेलले पहिचान गरेका हुन् ।

प्रहरीका अनुसार बाढीपछि त्रिशूली र नारायणी नदीमा हालसम्म १८६ वटा शव फेला परिसकेका छन् । पहिचान सहज बनाउन भेटिएका शवलाई सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ ।

प्रहरीले चितवन उद्योग सङ्घको परिसरमा डिस्प्ले बोर्ड राखेर पहिचान हुन बाँकी शवका तस्बिर सार्वजनिक गरेको छ । हालसम्म २२ वटा शव केन्द्रमा लगिएको र ४० भन्दा बढी शवका तस्बिर डिस्प्ले बोर्डमा राखिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । अन्य शवको भरतपुर अस्पतालमा सफाइ तथा तस्बिर खिच्ने काम भइरहेको छ ।

डिस्प्ले बोर्डमा राखिएका तस्बिर हेरेर आफन्तले आफ्ना परिवारका सदस्यको शव पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । साथै, खिचिएका तस्बिर नेपाल प्रहरीको पोर्टलमा राख्नुका साथै सम्बन्धित आफन्तले उपलब्ध गराएको मोबाइल नम्बरमा समेत पठाइनेछ ।

शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्र तथा आवश्यक कागजातका आधारमा यकिन गरिने प्रहरीले जनाएको छ । शवको पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिने प्रहरी उपरीक्षक पौडेलले बताए ।