काठमाडौं।
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल (त्रिवि) को फरेन्सिक विभागअगाडि यतिबेला मृत्युको पीडा र आफन्त भेटिने आशाबीचको एउटा असह्य पिडादायी दृश्य देखिन्छ । भित्तामा टाँसिएका मृतकका तस्बिर नियाल्दै आफन्तहरू आफ्ना प्रियजनको पहिचान खोजिरहेका छन् । कोही तस्बिर हेर्दै भक्कानिन्छन्, कोही अस्पतालका कोठा–कोठामा आफन्त खोजिरहेका छन् भने कोही हराइरहेका परिवारका सदस्य भेटिन्छन् कि भन्ने आशामा प्रहरीलाई विवरण टिपाइरहेका छन् ।
भोटेकोशी–त्रिशूली बाढी र पहिरोले निम्त्याएको विपत्तिपछि काठमाडौंका अस्पतालहरू घाइतेको उपचारस्थल मात्र बनेका छैनन्, बेपत्ता आफन्तको खोजी गर्ने परिवारका लागि आशाको अन्तिम थलोसमेत बनेका छन् ।
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा भदौ १० र ११ गते गरी १२ वटा शव ल्याइएको सुरक्षार्थ खटिएका प्रहरीले जानकारी दिएका छन् । तीमध्ये चारवटा शव आफन्तले पहिचान गरी बुझेर लगिसकेका छन् । बाँकी शवको पहिचानका लागि आफन्तहरू फरेन्सिक विभाग अगाडि भेला भइरहेका छन् ।
फरेन्सिक विभागको भित्तामा टाँसिएका मृतकका तस्बिर हेर्दै आफन्तले आफ्नो मान्छे पहिचान गर्ने प्रयास गरिरहेका छन् । शव पहिचानका लागि अस्पतालमा पुग्ने आफन्तको भीड, आफन्तको नाम टिपाउने प्रहरी उपचाररत घाइतेका परिवारको उपस्थितिले अस्पताल परिसरलाई थप संवेदनशील बनाएको छ ।
वार्डभित्र उपचार, बाहिर आफन्तको रुवाबासी
त्रिवि शिक्षण अस्पतालमा भोटेकोशी–त्रिशूली बाढीबाट घाइते भएका ३२ जनालाई उपचारका लागि ल्याइएको छ । अस्पतालका अनुसार उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । अन्य घाइतेमध्ये आठ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ भने केहीलाई अर्थोपेडिक तथा न्युरो वार्डमा राखिएको छ । केही घाइतेको आकस्मिक कक्षमै उपचार भइरहेको छ ।
वार्डभित्र चिकित्सक र स्वास्थ्यकर्मी घाइतेको उपचारमा व्यस्त छन् । बाहिर भने आफन्तको भीड छ । कोही अस्पताल ल्याइएका आफन्तको अवस्था बुझ्न आएका छन्, कोही घाइतेको उपचारबारे जानकारी लिन पुगेका छन् भने कोही बाढीमा बेपत्ता आफन्त अस्पतालमा आइपुगेका छन् कि भनेर खोजिरहेका छन् ।
अस्पतालले उपचाररत घाइतेको विवरण बाहिरै सार्वजनिक गरेको छ । नेपाल प्रहरीको टोलीले हराइरहेका आफन्तको खोजीका लागि अस्पताल पुगेकाहरूको नाम र विवरण संकलन गरिरहेको छ । अस्पतालमा बिरामी थपिदै जाँदा बाहिर बसेका प्रहरीलाई मोबाईलमा अस्पतालमा डिउछीमा रहेका स्वास्थ्यकर्मीले नाम सहितको विवरण पठाउने र प्रहरीले पेपरमा टिप्ने गरेको दृश्य ट्रमा सेन्टरमा देखिन्छ ।
त्रिवि शिक्षण अस्पतालसँगै राष्ट्रिय ट्रमा सेन्टरमा समेत बाढीबाट घाइतेको उपचार भइरहेको छ । वीर अस्पताल, नर्भिक अस्पताल, काठमाडौं मेडिकल कलेज, ग्रान्डी अस्पताललगायतका अस्पतालमा पनि घाइते तथा बिरामी आउने क्रम बढिरहेको छ ।
विपत्तिको सम्भावित चापलाई ध्यानमा राख्दै अस्पतालहरूले आफ्ना आकस्मिक सेवा तथा जनशक्तिलाई ‘अलर्ट’ अवस्थामा राखेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको छ भने केही स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष उपचार तथा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । विपद्बाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको नियमित र निर्बाध आपूर्ति सुनिश्चित गर्न नेपाल औषधि उत्पादक संघ (एपोन)ले सरकारसँग आग्रह गरेको छ ।
एपोनका अध्यक्ष बिप्लव अधिकारी र महासचिव सन्तोष बरालले जारी गरेको विज्ञप्तिमा स्वदेशी औषधि उद्योग विपद्को समयमा राज्य र नागरिकको साथमा रहने प्रतिबद्धता जनाइएको छ । बाढी तथा पहिरोका कारण घरबस्ती, सडक, पुल, विद्युत्, सञ्चार, उद्योग–व्यवसाय, व्यापारिक संरचना, भन्सार तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रणाली प्रभावित भएकाले खोज तथा उद्धार, राहत, उपचार र पुनः स्थापनाका कामलाई तीव्र र प्रभावकारी बनाउन संघले सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा सरोकारवालासँग आग्रह गरेको छ ।
औषधि मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले प्रभावित क्षेत्रको स्वास्थ्य आवश्यकता तत्काल पहिचान गरी अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको पर्याप्त, नियमित र निर्बाध आपूर्ति सुनिश्चित गर्न स्वदेशी औषधि उद्योग पूर्ण रूपमा प्रतिबद्ध रहेको संघले जनाएको छ ।
विपद्बाट प्रभावित उद्योगी, व्यवसायी, श्रमिक, कृषक तथा सर्वसाधारणको वास्तविक क्षतिको शीघ्र मूल्याङ्कन गरी राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि विशेष आर्थिक तथा नीतिगत प्याकेज ल्याउन पनि एपोनले सरकारसँग आग्रह गरेको छ ।
बागमती प्रदेश सरकारले बाढीमा घाइते भएकाहरूको प्रदेशअन्तर्गतका प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लाका नागरिकलाई नजिकको प्रादेशिक अस्पतालमा सम्पर्क गरी निःशुल्क उपचार सेवा लिन आग्रह गरेको छ ।
प्रधानमन्त्री बालेन शाहले देशले अकल्पनीय विपत्तिको सामना गरिरहेको भन्दै सरकारको सम्पूर्ण संयन्त्र उद्धार तथा राहतमा परिचालन गरिएको बताउनुभएकोछ । प्रधानमन्त्रीका अनुसार बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको थियो । उद्धारका लागि थप हेलिकोप्टर तयारी अवस्थामा राखिएको र प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री पु¥याउने काम भइरहेको उहाले बताउनुभयो ।
नेपाली सेनाको उद्धार अभियानबाट रसुवाको टिमुरेबाट नेपाली तथा भारतीय नागरिकलाई सकुशल उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । त्यस्तै टनेलमा फसेका नागरिकलाई समेत उद्धार गरिएको उहाले बताउनुभयो ।
प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुंगा काट्ने मेसिनलगायत सामग्री पठाउने काम भइरहेको छ । मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङका लागि अस्थायी व्यवस्था मिलाउने तयारी पनि भइरहेको प्रधानमन्त्रीले बताउनुभएको छ ।
नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको व्यवस्था गरिएको छ । प्रभावित क्षेत्रको अवस्थाबारे ड्रोन सर्वेक्षणबाट सूचना संकलन गर्ने काम पनि भइरहेको प्रधानमन्त्रीको भनाइ छ । उता चितवन, रसुवामा हराईरहेका व्यक्तिहरुको खोजीमा सरकारको ध्यान पुग्नुपर्ने देखिन्छ । उद्धारका क्रममा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने बताईएको छ ।
यहि अवस्थालाई ध्याना राखी स्वास्थ्य मन्त्रालयले डिजिटल समन्वय संयन्त्र बनाएको जनाएको छ । विपद्को समयमा स्वास्थ्य सेवा लिन र दिन सहज होस् भनेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डिजिटल माध्यमबाट स्वास्थ्य सहयोग समन्वय गर्ने व्यवस्था मिलाएको छ । ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ नाम दिइएको डिजिटल फारममार्फत सहयोग चाहिने व्यक्ति, सहयोग गर्न चाहने स्वास्थ्यकर्मी तथा सहयोग गर्न चाहने स्वास्थ्य संस्थाले आफ्नो विवरण उपलब्ध गराउन सक्नेछन् ।
सहयोग चाहिने व्यक्तिले आफूलाई आवश्यक सहयोग र स्थान खुलाउनुपर्नेछ । स्वास्थ्यकर्मीले आफ्नो परिचय, योग्यता, विशेषज्ञता, अनुभव तथा कुन जिल्लामा गएर सेवा गर्न चाहेको हो भन्ने विवरण उपलब्ध गराउनुपर्नेछ । स्वास्थ्य संस्थाले संस्थाको प्रकृति, सम्पर्क व्यक्ति र उपलब्ध गराउन चाहेको सहयोगसम्बन्धी विवरण भर्नुपर्ने व्यवस्था गरिएको छ । तर विपदमा परेका व्यक्तिसँग न नेट छ न सूचनाको पहुँच नै ?
मानवीयता हराउँदै गएको अर्को पीडादायी दृश्य
विपत्तिको यो घडीमा अधिकांश मानिस उद्धार, राहत र सहयोगमा जुटिरहेका बेला केही व्यक्तिको अमानवीय गतिविधि पनि देखिएको छ । मृतकको शरीरबाट सुन तथा गहना निकाल्ने, मृतकका झोला खोतल्ने, बाढीले बगाएका ग्यास सिलिन्डरलगायत सामान निकाल्न ज्यान जोखिममा पारेर नदीमा पस्ने तथा शवलाई समेत असंवेदनशील ढंगले घिसारेर बाहिर निकाल्ने दृश्यले विपत्तिको पीडामाथि अर्को पीडा थपेको छ । यतिमात्र नभै खोलामा पौडि खेल्दै माछा खोज्ने, दाउरा बटुल्ने जस्ता दृश्यले पिडामाथि थप पिडा थपिएको देखिन्छ । प्राकृतिक विपत्तिले देशलाई शोकमा डुबाएको बेला यस्ता गतिविधिले मानवीय संवेदनामाथि नै प्रश्न उठाएको छ ।
अस्पतालका भित्तामा टाँसिएका मृतकका तस्बिर हेर्दै आफन्त खोजिरहेका परिवार, उपचार कक्षमा जीवनका लागि संघर्ष गरिरहेका घाइते, बेपत्ता आफन्तको नाम टिपाउन लाम लागेका नागरिक र उद्धारमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको दृश्यले अहिलेको विपत्तिको गहिराइ देखाइरहेको छ ।दभोटेकोशी–त्रिशूलीको बाढीले घर, सडक र संरचना मात्र बगाएको छैन, सयौँ परिवारको जीवनमा अपूरणीय क्षति र अनिश्चितता पनि छोडेको छ । अहिले देशलाई उद्धार, उपचार र राहतसँगै हराइरहेका आफन्तको खोजी र मानवीय संवेदनाको पनि उत्तिकै आवश्यकता छ । योसँगै अब खाद्य अभाव, रोग, शोक र भोका का विषयमा सरकार समयमै सचेत हुनु जरुरी छ ।











प्रतिक्रिया